
काठमाडौँ। कुलेखानी जलाशयको पानीको सतह हाल सुरक्षित तहमै रहेको र जलाशय क्षेत्रमा न्यून वर्षा भइरहेको सम्बन्धित निकायले जनाएको छ।
जलाशयको अवस्था सामान्य रहेकाले हाल बाँधका ढोका खोल्नुपर्ने अवस्था नरहेको जनाइएको छ। बाँधका ढोका खोल्नुपर्ने अवस्था सिर्जना भएमा त्यसअघि नै तल्लो तटीय क्षेत्रका बासिन्दा तथा सम्बन्धित सरोकारवालालाई जानकारी गराउने व्यवस्था गरिएको छ।
यसका लागि तीन चरणको चेतावनी प्रणाली व्यवस्था गरिएको छ। प्रत्येक चरणमा साइरन बजाएर तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क गराइनेछ। साथै, तीनै चरणमा SMS मार्फत तटीय क्षेत्रका बासिन्दा तथा सम्बन्धित सरोकारवालालाई आवश्यक जानकारी प्रदान गरिने जनाइएको छ।
यसैबीच, विदेशका दृश्य तथा पुराना भिडियोहरूलाई कुलेखानी बाँधको वर्तमान अवस्थासँग जोडेर सामाजिक सञ्जालमा ‘कुलेखानी बाँध फुट्यो’ भन्दै फैलाइएका अपुष्ट खबर तथा भ्रामक भिडियोप्रति सचेत रहन सम्बन्धित निकायले आग्रह गरेको छ।
आधिकारिक स्रोतबाट तथ्य पुष्टि नगरी यस्ता सामग्रीमा विश्वास नगर्न र शेयर नगर्न समेत अनुरोध गरिएको छ। साथै, सर्वसाधारणलाई आधिकारिक सूचनामा ध्यान दिन तथा सम्बन्धित निकायबाट जारी सुरक्षा निर्देशनको पालना गर्न आग्रह गरिएको छ।



