Nepal Purbadhar

बीसौँ एसियाली खेलकुदः पुरुष क्रिकेटमा नेपालद्वारा अफगानिस्तान ५ विकेटले पराजित


काठमाडौं। जापानको आइची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ।

आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा भएको खेलमा अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो।

नेपालका लागि सन्दीप जोराले ३४ रन बनाए। उनले ३५ बलमा ३ चौका र १ छक्का प्रहार गरे। यस्तै, रोहितकुमार पौडेलले अविजित ३३, दीपेन्द्रसिंह ऐरीले १५ र कुशल मल्लले ९ रन बनाए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०२ रन बनाएको थियो। अफगानिस्तानका फेसल खान अहमदजाईले ३०, नजिबुल्लाह जाद्रानले ३० र नङ्गेलिया खानले अविजित १७ रन बनाए।

नेपालका लागि बलिङतर्फ कुशल भुर्तेलले ४ तथा ललितनारायण राजवंशीले ३ विकेट लिए।

समूह ‘ए’ मा रहेको नेपालले अब शनिबार जापानसँग खेल्नेछ। समूह ‘ए’ मा नेपालसँगै अफगानिस्तान र जापान रहेका छन्। समूह ‘बी’ मा मलेसिया, हङकङ र ओमान रहेका छन्।


Read Previous

राहुघाट आयोजना सम्पन्न भएपछि कुलमान घिसिङले सम्झिए आफ्नै नेतृत्वमा भएको क्षमता विस्तार र कम्पनी मोडलको निर्णय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar