Nepal Purbadhar

अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो


सङ्खुवासभा। अरुण नदीमा पानीको बहाव बढेपछि सङ्खुवासभाको मकालु गाउँपालिका-५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्याम निर्माण कार्य रोकिएको छ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार नदीको जलसतह बढेपछि आयोजनाको निर्माण कार्य पूर्णरुपमा प्रभावित भएको हो।

आयोजनाको निर्माणाधीन क्षेत्रमा अरुण नदीको पानीको बहाव बढेपछि ड्राइभर्सनका लागि अस्थायी रुपमा निर्माण गरिएको टनेलबाट पानी पूर्णरुपमा निकास हुन नसकेको प्रहरीले जनाएको छ। त्यसपछि नदीको पानी अस्थायी ड्याममाथिबाट बग्न थालेको हो।

पानी निर्माणाधीन स्थायी ड्यामतर्फ जान थालेपछि तत्कालका लागि ड्याम निर्माणको काम रोकिएको प्रहरी निरीक्षक राजवंशीले बताए।

उनका अनुसार आयोजनास्थलमा हाल अरुण नदीको पानीको बहाव ८१८.५० मिटर पुगेको छ। आयोजनास्थलमा नदीको पानीको बहाव ८१७ मिटरभन्दा माथि पुगेमा जोखिमपूर्ण हुने बताइएको छ।

आयोजनास्थलको अवस्था तथा नदीको पानीको बहावको निरन्तर निगरानी भइरहेको प्रहरीले जनाएको छ। नदीमा पानीको बहाव बढेसँगै ड्याम निर्माण कार्य प्रभावित भएको हो।

यसैबीच, स्थानीय प्रशासनले नदी तथा खोलाको तटीय क्षेत्र र पहिरोको जोखिम भएका बस्तीमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जिल्लाका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान रहेकाले जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन प्रशासनले आग्रह गरेको हो।


Read Previous

पाल्पामा पहिरोको बितण्डा: दुई घर भत्किए, एक महिला बेपत्ता

Read Next

हनुमन्ते र गोदावरी खोलामा बाढी: १५ परिवारको उद्धार, भक्तपुर-काठमाडौँ जोड्ने पुल जोखिममा, यातायात बन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar