Nepal Purbadhar

मङ्लबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

मङ्लबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

बूढीगंगा आयोजना निर्माणका लागि लट-१ को ठेक्का पुनः आह्वान गरिने


काठमाडौं । सुदूरपश्चिम प्रदेशस्थित बूढीगंगा नदीमा पहिचान भई अघि बढेको २० मेगावाटको बूढीगंगा अर्धजलाशय जलविद्युत आयोजना निर्माणका लागि पुनः लट-१ को ठेक्का आह्वान गरिने भएको छ । लट-१ को सिभिल तथा हाइड्रोमेकानिकलतर्फ पहिलो पटकको ठेक्का प्रक्रियामा कुनै पनि आवेदकले तोकिएको मापदण्ड पूरा गर्न नसकेपछि पुनः ठेक्का आह्वान गर्न लागिएको हो ।

ठेकेदार छनोटका लागि बोलपत्र आह्वान भई मूल्याङ्कन सम्पन्न हुँदा कुनै पनि बोलपत्र सारभुतरूपमा प्रभावकारी नभएपछि उक्त बोलपत्र स्थगित गरी पुनः खरिद प्रक्रिया सुरु गर्न लागिएको विद्युत विकास विभागले जनाएको छ । विभागका अनुसार पुनः खरिद प्रक्रिया सुरु गरी ठेक्का आह्वान गरेर प्राप्त आवेदनको मूल्याङ्कनबाट योग्य ठेकेदार छनोट भएपछि आयोजनाको संरचना निर्माणको काम अगाडि बढ्नेछ ।लट-१ पछि लट–२ अन्तर्गत इलेक्ट्रोमेकानिकल र लट–३ अन्तर्गत प्रसारण लाइन निर्माणका लागि पनि छुट्टा छुट्टै बोलपत्र आह्वान हुनेछ ।

आयोजनाको निर्माण कार्य सुपरिवेक्षणका लागि परामर्शदाता छनोट गरी सम्झौताको चरणमा रहेको पनि विभागले जानकारी दिएको छ । यो आयोजना सन् २०२५ भित्र निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य छ ।

अहिलेसम्म आयोजनाको बाँध, विद्युतगृह, क्याम्प साइट, सबस्टेसन तथा कार्यालय भवनका लागि अछाममा आवश्यक २५० रोपनी जग्गा खरिदकाे काम पूरा भइरहेको छ । जलाशय निर्माणका लागि आवश्यक २० रोपनी जग्गा पनि खरिद गरिएको छ ।

आयोजना स्थलमा कार्यालय भवन तथा आवासगृह एवं आवश्यक क्याम्पको निर्माण कार्य पूरा भइसकेको छ । आयोजनाका सबै संरचना रहने स्थानसम्म पुग्नका लागि आवश्यक पहुँच मार्ग तथा पुल निर्माणको काम सकिन लागेको विभागले जनाएको छ ।

यस्तै, चपरतोला सबस्टेसन निर्माणका लागि बाजुरामा २० रोपनी जग्गा खरिद गरिएको विभागले जनाएको छ । आयोजनाको विद्युत प्रवाह हुने प्रसारण लाइनका लागि आवश्यक पर्ने जग्गा आगामी आर्थिक वर्षबाट सुरु गर्ने विभागको योजना छ ।

अहिलेसम्म प्रसारण लाइनको रुटको प्रारम्भिक वातावरणीय अध्ययन सम्पन्न भइसकेको छ । आयोजना निर्माण सम्पन्न भई उत्पादन हुने विद्युत विद्युतगृहदेखि ८१.७० किलोमिटर टाढा कैलालीको पहलमानपुर सबस्टेसनमा ल्याएर जोडिनेछ ।

यो आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा वार्षिक १०९.०७ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । विद्युतगृहमा १० मेगावाट क्षमताका २ वटा फ्रान्सिस टर्बाइन जडान गरिनेछ ।

पहलमानपुर सबस्टेसनसम्मको १३२ केभी प्रसारण लाइन आयोजनाले नै निर्माण गर्नेछ । यो प्रसारण लाइनमार्फत यस क्षेत्रमा निजी क्षेत्रले निर्माण गरेका जलविद्युत आयोजनाको विद्युत पनि प्रवाह हुनेछ ।

आयोजना सम्पन्न गर्न १० अर्ब ३३ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । बूढीगंगा निर्माणका लागि सरकार र कुवेती फण्ड फर अरब इकोनोमिक डेभलपमेन्टबीच सन् २०१२ मा सम्झौता भएको थियो । आयोजनामा साउदी अरेबियाको पनि लगानी रहनेछ ।सरकार र साउदी विकास कोषबीच सन् २०१४ मा सम्झौता भइसकेको छ ।

विभागले बूढीगंगा जलविद्युत आयोजना कार्यालय स्थापना गरी निर्माण प्रक्रिया अगाडि बढाएको छ । याे आयोजना निर्माणका लागि करिब दशकअघि नै लगानी प्रतिबद्धता आएकाे भए पनि निर्माण प्रक्रिया भने सुस्त गतिमा अघि बढेकाे छ । याे आयोजनाकाे अध्ययन सन् १९९४ देखि  सुरु गरिएकाे थियो ।


Read Previous

नेपालमै पहिलो पटक आयोजित ‘ट्र्याक कार्टिङ’ प्रतियोगितामा कोर्निभा महर्जन विजयी

Read Next

विकास निर्माणका काममा एकताबद्ध होऔंः ऊर्जामन्त्री भुसाल

Leave a Reply

Your email address will not be published.