Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

नेपालको ३६४ मेगावाट भारतीय बजारमा निर्यात, २ देशको विद्युत व्यापारमा कोशेढुंगा: घिसिङ


काठमाडौं । नेपालले देशभित्र खपत हुन नसकेर बढी भएको ६ वटा जलविद्युत केन्द्रको ३६४ मेगावाट विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) बजारमा निर्यात गर्न सुरु गरेको छ । नेपाल विद्युत प्राधिकरणले शुक्रबार (आज) बाट स्वीकृति पाएअनुसारको विद्युत भारतमा निर्यात थालेको हो ।

बिहीबारसम्म ५ वटा जलविद्युतगृहको विद्युत निर्यात भइरहेकोमा शुक्रबार ग्रिन भेन्चर कम्पनीले दोलखा र रामेछापको सीमामा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको ५२.४ मेगावाटको लिखु–४ को ५१ मेगावाट विद्युत निर्यात हुन थालेपछि स्वीकृति पाएअनुसारको सबै विद्युत निर्यात भइरहेको हो । लिखु–४ भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) बजारमा विद्युत निर्यात हुने निजी क्षेत्रको पहिलो जलविद्युत केन्द्र हो ।

निर्यातका लागि स्वीकृति पाएका सबै आयोजनाको विद्युत भारतीय बजारमा बिक्री हुन थाल्नु २ मुलुकबीचको विद्युत व्यापारका लागि कोशेढुंगा भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनले स्वीकृत क्षमता अनुसारको विद्युत निर्यात सुरु हुँदा दुवै देशका प्रधानमन्त्रीले संयुक्तरूपमा जारी गरेको ऊर्जा क्षेत्रमा सहकार्य सम्बन्धी संयुक्त दृष्टिकोण पत्र कार्यान्वयनको चरणमा पुगेको हताए ।

‘यो सफलता २ मुलुकबीचको विद्युत व्यापारका लागि एउटा कोशेढुंगा हो । यसले दुई मुलुकबीचको व्यापार घाटालाईसमेत कम गर्ने छ’, घिसिङले भने, ‘आन्तरिक रुपमा खपत गरी अतिरिक्त भएको सबै विद्युत निर्यात गरिरहेका छौं । यसबाट मुलुकभित्र उत्पादित विद्युत बिक्री गर्न नसकी खेर फाल्नु पर्ने अवस्था तत्कालका लागि अन्त्य भएको छ ।’

उनले आगामी दिनमा थप विद्युत निर्यातको लागि स्वीकृतिका लागि भारतीय पक्षसँग निरन्तर छलफल गरिरहेका छौं, यसको नतिजा छिट्टै देखिनेमा आफु आशावादी रहेको बताए । प्राधिकरणले गत १९ जेठदेखि भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) बजारमा प्रतिश्पर्धी दरमा विद्युत बिक्री गर्न सुरु गरेको थियो । भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले ६ वटा जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई स्रोत मानी ३६४ मेगावाट विद्युत आइएक्स मार्केटमा बिक्री गर्न नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिएको थियो ।

गत चैतमा प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा सहकार्य सम्बन्धी संयुक्त दृष्टिकोण पत्र जारी भएको थियो । त्यसलगत्तै विद्युत प्राधिकरणले थप ४ वटा जलविद्युत केन्द्रबाट उत्पादित विद्युत भारतमा निर्यातका लागि स्वीकृति पाएको थियो ।

प्राधिकरणको स्वामित्वका त्रिशूली तथा देवीघाटको ३७.७ मेगावाट, कालीगण्डकी एको १४० मेगावाट, मध्यमस्र्याङ्दीको ६८ मेगावाट, मस्र्याङ्दीको ६७ मेगावाट र निजी क्षेत्रको लिखु–४बाट उत्पादित ५१ मेगावाट विद्युत दैनिक रुपमा भारतीय बजारमा निर्यात भइरहेको छ । हालका दिनमा नियमित भइरहेको वर्षाले नदीनालामा पानीको बहाव बढेर विद्युतगृहहरू पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिकरूपमा खपत गरी बढी भएको विद्युत ढल्केबर–मुजफ्फपुर ४०० सय केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत दैनिक रुपमा भारतीय बजारमा निर्यात भइरहेको छ ।

आइएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिश्पर्धी दरमा विद्युतको कारोबार हुने गर्दछ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ । प्राधिकरणले शुक्रबारका लागि विद्युतको अधिकतम र न्यूनतम मूल्य प्रतियुनिट क्रमशः १९.२ रुपैयाँ (१२ भारु) र ३.९९८४ रुपैयाँ (२.४९९ भारु) पाएको छ । औसत मूल्य प्रतियुनिट ११.४२ रुपैयाँ (७.१४ भारु) पाएको छ ।

भारतको केन्द्रीय विद्युत प्रणाली अन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा विद्युत बिक्री गरिन्छ छ । प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्यान्न १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युतको परिमाणसहित बिडमा प्रतिस्पर्धा छ ।

विद्युत प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युतको प्रति युनिट बिक्री दर तय हुन्छ । प्रतिश्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात २४ घण्टा विद्युत निर्यात गरिन्छ ।

प्राधिकरणकोतर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत व्यापारका लागि तोकिएको सम्पर्क निकाय (नोडल एजेन्सी) एनटिपिसी विद्युत व्यापार निगम (एनभीभीएन) ले गर्छ छ । एनभिभिएनले हरेक दिनको कारोबार सम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउने गर्दछ ।


Read Previous

बजेट विपन्न वर्गलाई सम्बोधन गर्ने गरी आएको छ: डा. विश्वनाथ पौडेल (अन्तर्वार्ता)

Read Next

घटेको हप्ता दिनमै पुनः सवारी साधनको भाडा बढ्यो (सूचीसहित)

Leave a Reply

Your email address will not be published.