Nepal Purbadhar

बुधबार, अशोज १०, २०८०
Wednesday, September 27, 2023

बुधबार, अशोज १०, २०८०
Wednesday, September 27, 2023

पूर्वाधार परियोजनामा निफ्रा बैंकको ३४ अर्ब बढी लगानी, जलविद्युतमा मात्रै १८ अर्बको प्रतिबद्धता


काठमाडौं । पूर्वाधार विकासमा मात्र केन्द्रीत भई लगानी गर्ने उद्देश्यले स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर (निफ्रा) बैंकले अहिलेसम्म विभिन्न परियोजनामा ३४ अर्ब रुपैयाँ बढीको लगानी स्वीकृत गरेको छ । बैंकले हाल निर्माणको विभिन्न चरणमा रहेका ऊर्जा, सहरी विकास, यातायात, कृषि, सूचना प्रविधि, पर्यटन, स्वास्थ्य लगायत क्षेत्रका ३२ पूर्वाधार परियोजना निर्माणका लागि यो लगानी स्वीकृत गरेको हो ।

अहिलेसम्ममा ३४ अर्ब १९ करोड ८२ लाख ८० हजार रुपैयाँ बराबरको पूर्वाधार ऋण स्वीकृत गरिसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले बताए । उनका अनुसार स्वीकृत भएकोमध्ये करिब साढे १३ अर्ब रुपैयाँ बराबरको ऋण पूर्वाधार परियोजनाहरूमा प्रवाह भई खर्च भइरहेको छ ।

बैंकले सबैभन्दा बढी लगानी जलविद्युत आयोजनाहरूमा गरेको छ । १ दर्जन जलविद्युत आयोजनामा लगानी प्रवाह गर्न करिब १८ अर्ब रुपैयाँ बराबरको ऋण स्वीकृत भइसकेको उनले बताए ।

‘बैंकले १२ वटा जलविद्युत आयोजनामा ऋण प्रवाह गर्न लगानी सम्झौता गरेको छ,’ उनले भने, ‘यो क्षेत्रमा अहिलेसम्म करिब ५ अर्ब रुपैयाँ ऋण प्रवाह भई खर्च समेत भइसकेको छ ।’ उनले पछिल्लो पटक सिन्धुपाल्चोकमा निर्माणाधीन ४० मेगावाटको भोटेकोसी–१ जलविद्युत आयोजनामा ऋण लगानी सम्झौता भएको बताए ।

शैलुङ पावर कम्पनीले निर्माण गरिरहेको यो आयोजनामा बैंकले अगुवाई गर्दै २ अर्ब रुपैयाँ ऋण लगानी गर्ने प्रतिबद्धता जनाएको छ । यस्तै, बैंकले पर्यटन क्षेत्रका १२ वटा पूर्वाधार परियोजनामा ऋण प्रवाहका लागि लगानी प्रतिबद्धता जनाएको छ ।

यो क्षेत्रमा अहिलेसम्ममा ३ अर्ब ८४ करो ५३ लाख ६० हजार रुपैयाँ लगानी प्रवाह गरिसकेको पनि खतिवडाले जानकारी दिए । यो क्षेत्रका परियोजनाका लागि ६ अर्ब २५ करोड ७७ लाख रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ ।

सिमेन्ट उद्योगका २ परियोजनामा १ अर्ब ९५ करोड ७८ लाख ६० हजार रुपैयाँ ऋण प्रवाह भइसकेको छ । बैंकले यी सिमेन्ट उद्योगमा २ अर्ब १३ करोड ३९ लाख रुपैयाँ ऋण लगानी गर्ने गरी सम्झौता गरेको छ ।

यस्तै, अस्पताल र सूचना प्रविधितर्फ पनि ३/३ वटा गरी ६ वटा परियोजनामा ऋण प्रवाह गर्ने प्रतिबद्धता रहेको खतिवडाले जानकारी दिए । उनका अनुसार अस्पताल पूर्वाधारका लागि ५ अर्ब १३ करोड ८७ लाख ८० हजार रुपैयाँ ऋण प्रवाह गर्ने सम्झौता भएकोमा अहिलेसम्ममा १ अर्ब ७९ करोड १२ लाख ८० हजार रुपैयाँ बैंकले प्रवाह गरिसकेको छ ।

सूचना प्रविधितर्फका ३ पूर्वाधार आयोजनामा २ अर्ब ७० करोड ९२ लाख ५० हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता भइसकेकोमा ९२ करोड ५६ लाख २० हजार रुपैयाँ बराबरको ऋण प्रवाह भइसकेको बैंकले जनाएको छ । ऋण प्रवाह गर्ने गरी सम्झौता भइसकेका बाहेक पनि करिब १ दर्जन पूर्वाधार परियोजना ऋण लगानी स्वीकृतका लागि पाइपलाइनमा रहेको बैंकले जनाएको छ ।


Read Previous

प्रसारण समस्याले मिस्ट्री खोला पूर्ण क्षमतामा चल्न पाएन, १० मेगावाट विद्युत खेर

Read Next

भौतिक विकाससँगै वातावरण संरक्षणमा जिम्मेवार बनौंः खानेपानी मन्त्री

Leave a Reply

Your email address will not be published.