Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

बागमती र गण्डकी प्रदेशका सवारी साधनलाई अनिवार्य इम्बोस्ड नम्बर प्लेट


काठमाडौं । यातायात व्यवस्था विभागले बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनलाई  इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेकाे छ । शुक्रबार  सार्वजनिक सूचना जारी गरी इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेकाे हाे ।

मन्त्रिपरिषद्को निर्णयअनुसार १ मंसिर २०७८ देखि नै प्रदेश १ र मधेश प्रदेशबाहेक सबैमा दर्ता भएका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट दर्ता गर्ने सूचना राजपत्रमा प्रकाशित गरिएको थियो । तर, तोकिएको समयभन्दा धेरै पछिसम्म पनि निर्णय कार्यान्वयनमा नआएपछि विभागले सार्वजनिक सूचना निकालेको हो ।

बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारीहरुमा इम्बोस्ड नम्बर प्लेट जडान नगरेमा १ साउनदेखि कार्वाही गर्ने विभागले तयारी गरेको छ । ‘साउनदेखि ट्राफिक प्रहरीले सडक अनुगमन गर्ने र तोकिए अनुसार इम्बोस्ड प्लेट जडान नगरिएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारवाही गरिनेछ’ विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

इम्बोस्ड नम्बर जडान गर्न तीन कार्यालय तोकिए

इम्बोस्ड प्लेट जडान गर्न बागमती प्रदेशअन्तर्गत यातायात व्यवस्था कार्यालय (साना ठूला सवारी), एकान्तकुना, ललितपुर र यातायात व्यवस्था कार्यालय (मोटरसाइकल), गुर्जुधारा, काठमाडौं तोकिएको छ । त्यस्तै, गण्डकी प्रदेशअन्तर्गत यातायात व्यवस्था कार्यालय (सवारी) पोखरा, कास्की तोकिएको छ ।

विभागले बागमती प्रदेशको एकान्तकुना ललितपुर र गुर्जुधारा काठमाडौं तथा गण्डकी प्रदेशको पोखरा–कास्कीमा रहेका यातायात व्यवस्था कार्यालयहरुमा आवश्यक पूर्वाधार समेत तयार भइसकेको जानकारी दिएको छ । तर, ती कार्यालयहरुमा दर्ता भएका सवारीहरुमा अहिलेसम्म पनि इम्बोस्ड नम्बर प्लेट जडान सम्बन्धी संघीय कानून बमोजिमको व्यवस्था तथा निर्णय कार्यान्वयन नभएको विभागले उल्लेख गरेको छ । यसले विभागको गम्भीर ध्यानाकर्षण भएको जानकारी सूचनामा उल्लेख छ ।

ती कार्यालयमा दर्ता भएका सबै सवारीहरुका सवारी धनीहरुलाई सार्वजनिक सूचना मार्फत जानकारी गराइएको हो । विभागले ऐन तथा नियममा भएको व्यवस्था बमोजिम सवारीमा अबिलम्ब इम्बोस्ड नम्बर प्लेट जडान गर्न भनिएको छ ।

यसअघि नै सरकारले नेपाल राजपत्रमा २२ कात्तिक २०७६ सूचना प्रकाशन प्रकाशित गरी नामाकरण भएका प्रदेशमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने मिति तोकेको थियो । राजपत्रअनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशमा नयाँ दर्ता हुने सवारी साधनलाई १ मंसिर २०७८ देखि नै इम्बोस्ड नम्बर प्लेट जडान गर्ने भनिएको थियो ।

त्यस्तै, १ फागुन २०७८ देखि सवारी नामसारी गर्दा र १ जेठ २०७९ देखि सवारी दर्ता प्रमाणपत्र नवीकरण गर्दा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्ने मन्त्रिपरिषद्को निर्णय राजपत्रमा प्रकाशित गरिएको थियो ।

इम्बोस्ड नम्बर जडान गर्नुपर्ने सवारी साधन

इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने सवारी साधनमा सार्वजनिक सवारी, पर्यटन, निजी, सरकारी र संस्थानका सवारी साधन रहेका छन् । प्रदेश मातहतका यातायात व्यवस्था कार्यालयहरुमार्फत दर्ता भएका सबै सवारीहरुमा चरणबद्ध रुपमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने उल्लेख थियो ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को अनुसूची २, भाग–२ सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को नियम ४ को उपनियम (४) मा इम्बोस्ड नम्बर प्लेट जडानसम्बन्धी प्रावधान छ ।


Read Previous

बन्चरेडाडाँमा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापनमा मन्त्रालय र महानगरबीच समन्वय गरिने

Read Next

चीनले साढे २ वर्षमा विद्युत जडित क्षमतामा नवीकरणीय ऊर्जाको हिस्सा ३३ प्रतिशत पुर्याउने

Leave a Reply

Your email address will not be published. Required fields are marked *