Nepal Purbadhar

वर्षासँगै पहिरो : बीपी, पृथ्वी राजमार्ग र कान्ति लोकपथ अवरुद्ध

फाइल तस्बीर।


काठमाडौँ। अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा काठमाडौँ उपत्यकालाई तराई तथा पश्चिमी क्षेत्रसँग जोड्ने प्रमुख सडकमार्ग प्रभावित भएका छन् । पहिरोका कारण बीपी राजमार्ग, पृथ्वी राजमार्ग र कान्ति लोकपथका विभिन्न खण्डमा यातायात अवरुद्ध भएको छ ।

काभ्रेपलाञ्चोकमा पहिरो खस्दा बीपी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ४ः३० बजे रोशी गाउँपालिका-७ स्थित चारसयबेँसी र रोशी-८ गिम्दीमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

यसैबीच, जल तथा मौसम विभागको वर्षासम्बन्धी प्रक्षेपणलाई मध्यनजर गर्दै बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा रातको समयमा सवारी आवागमन बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयले असोज ८ गतेदेखि १२ गते बिहानसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाएको हो ।

बाढी तथा पहिरोको अवस्था मूल्याङ्कन गरी आवश्यक देखिएमा दिउँसो पनि सवारी सञ्चालनमा रोक लगाउन सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जोखिमको अवस्था हेरी आवश्यक निर्णय लिन जिल्ला प्रहरी कार्यालयलाई जिम्मेवारी दिइएको छ ।

बीपी राजमार्गमा गरिएको निर्णय कार्यान्वयनमा सहजीकरण गर्न छिमेकी जिल्ला सिन्धुली र भक्तपुरका प्रहरी युनिटलाई समेत अनुरोध गर्ने निर्णय भएको छ । नदी किनार तथा पहिरोको जोखिममा रहेका बस्तीका नागरिकलाई सम्भावित जोखिमबारे सचेत गराउने, जोखिमसम्बन्धी सूचना निरन्तर प्रवाह गर्ने तथा स्थानीय सञ्चारमाध्यममार्फत जानकारी गराउने निर्णय पनि गरिएको छ ।

प्रहरीले राजमार्गको अवस्था बुझेर मात्रै दिनको समयमा यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

पृथ्वी राजमार्ग र नारायणगढ-मुग्लिन सडक पनि बन्द

चितवनमा पनि अविरल वर्षाका कारण पृथ्वी राजमार्ग र नारायणगढ-मुग्लिन सडकखण्ड अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार बिहीबार राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म सवारी आवागमन रोकिएकामा वर्षा निरन्तर भएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको हो ।

पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि चितवन खण्डमा समेत सवारी आवागमन रोकिएको प्रशासनले जनाएको छ ।

नारायणगढ-मुग्लिन सडक हुँदै दैनिक १० हजारभन्दा बढी र पृथ्वी राजमार्ग हुँदै १४ हजारभन्दा बढी सवारीसाधन सञ्चालन हुने गरेका छन् । सडक बन्द हुँदा यी मार्ग हुँदै आवतजावत गर्ने यात्रु तथा मालवाहक सवारी प्रभावित भएका छन् ।

पहिरोले कान्ति लोकपथ पनि अवरुद्ध

लगातारको वर्षासँगै कान्ति लोकपथका विभिन्न स्थानमा पहिरो खसेपछि हेटौँडाबाट सञ्चालन हुने यातायात सेवा प्रभावित भएको छ ।

मकवानपुरका प्रहरी प्रमुख श्यामबहादुर खत्रीका अनुसार कान्ति लोकपथअन्तर्गत ललितपुरतर्फ तीन स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

यसैबीच, कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानीको सतह भने हाल सामान्य रहेको प्रहरीले जनाएको छ ।

लगातारको वर्षा र पहिरोका कारण प्रमुख राजमार्ग तथा लोकपथका विभिन्न खण्डमा यातायात प्रभावित भएपछि प्रशासन तथा प्रहरीले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।


Read Previous

राष्ट्रसंघको महासभामा प्रधानमन्त्री शाह- जलवायु संकटविरुद्ध विश्वव्यापी सहकार्य आवश्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar