Nepal Purbadhar

सीमा क्षेत्रमा सशस्त्र प्रहरीको कारबाही तीव्र, ७ महिनामा १ अर्ब ३३ करोडको अवैध सामान बरामद

तस्बीर: कोरोला भन्सार।


काठमाडौं। सीमा क्षेत्रमा निगरानी र सुरक्षा व्यवस्था कडा बनाउने सरकारी नीतिअनुसार सशस्त्र प्रहरी बल, नेपालले अवैध ओसारपसार, लागूऔषध कारोबार, हातहतियार तस्करी तथा अन्य आपराधिक गतिविधिविरुद्ध कारबाही तीव्र पारेको छ।

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार गठन भएयता २०८२ चैत १३ देखि २०८३ कात्तिक १२ गतेसम्म सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट १ अर्ब ३३ करोड २६ लाख ९१ हजार ५९९ रुपैयाँ बराबरका अवैध सामग्री बरामद गरेको छ।

सशस्त्र प्रहरीका अनुसार उक्त अवधिमा १७ नाल अवैध हातहतियार बरामद भएका छन् भने हातहतियारसम्बन्धी घटनामा संलग्न ८ जना पक्राउ परेका छन्। त्यस्तै, लागूऔषध कारोबारमा संलग्न ४२१ जना पक्राउ परेका छन्। उनीहरूबाट गाँजा, चरेस, अफिम, खैरो हेरोइन तथा विभिन्न प्रकारका ट्याब्लेट र इन्जेक्सन बरामद गरिएको छ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणतर्फ पनि प्रहरीले कारबाही गरेको छ। यस अवधिमा जोखिममा परेका १६७ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ११८ जना बालबालिका रहेका छन्। मानव बेचबिखन तथा ओसारपसारमा संलग्न ९१ जना पक्राउ परेका छन्।

सीमा अतिक्रमण नियन्त्रण तथा दशगजा क्षेत्रको व्यवस्थापनका लागि पनि विभिन्न काम गरिएको छ। सशस्त्र प्रहरीले दशगजाका ३५ स्थानमा रहेका २३७ ओटा संरचना हटाएको छ। त्यस्तै, १७ स्थानमा ७.४४८ बिघा जग्गाबाट खेतीपाती हटाइएको छ भने २०४ स्थानमा ९४.५८८ किलोमिटर सीमा क्षेत्र सरसफाइ गरिएको छ।

सीमावासीसँगको सम्बन्ध विस्तार र जनचेतना अभिवृद्धिका लागि उक्त अवधिमा २ हजार ८०६ ओटा कार्यक्रम सञ्चालन गरिएको छ। यसैगरी, १४१ सहायता कक्षबाट ३ लाख ४९ हजार ९०८ जना र १३ पर्यटक सहायता कक्षबाट १० हजार ६५४ जना लाभान्वित भएका छन्।


Read Previous

भारतीय विदेश सचिव मिस्री नोभेम्बर ४ मा नेपाल आउँदै, द्विपक्षीय सम्बन्धबारे छलफल हुने

Read Next

डीपीअर्यालसँग पेजको भेट: नेपालको जलविद्युत् विकासमा सहयोग गर्ने स्विट्जरल्यान्डको चाहाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar