
जापानका लागि नेपालको राजदूतमा सिफारिस गरिएका जिज्ञानकुमार थापा। उनले संसदीय सुनुवाइ प्रक्रियाबाट आफ्नो नाम फिर्ता लिएका छन्।
काठमाडौं । जापानका लागि नेपालको राजदूतमा प्रस्तावित जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन्।
जापानसँग सम्बन्धित स्वार्थ बाझिन सक्ने (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) विषयमा थप अध्ययन र स्पष्टता आवश्यक रहेको भन्दै उनले संसदीय सुनुवाइ प्रक्रियाबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेका हुन्।
संसदीय सुनुवाइ समितिका सभापतिलाई सम्बोधन गर्दै पठाएको पत्रमा थापाले लोकतान्त्रिक मूल्य-मान्यता, सुशासन, संसदीय गरिमा तथा नेपाल सरकारको मर्म र भावनालाई उच्च सम्मान गर्ने उल्लेख गरेका छन्।
कुनै पनि पदभन्दा राष्ट्रिय हित, नैतिक निष्ठा र पारदर्शिता माथि रहने आफ्नो दृढ विश्वास रहेको उनले पत्रमा बताएका छन्।
देश र जनताको सेवा गर्न पद नै अन्तिम माध्यम नभएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि राष्ट्रिय हित, विकास र समृद्धिका लागि सरकारले सुम्पिने जुनसुकै जिम्मेवारी निष्ठापूर्वक पूरा गर्न तयार रहेको प्रतिबद्धता जनाएका छन्।
आफूलाई राजदूतमा सिफारिस गरी विश्वास व्यक्त गरेकोमा नेपाल सरकार तथा संसदीय सुनुवाइ प्रक्रियामा सहयोग गर्ने सभापति र समितिका सदस्यहरूप्रति उनले आभार व्यक्त गरेका छन्।

