Nepal Purbadhar

धान सिजनमा प्रमुख नहर प्रणाली पूर्ण सञ्चालनमा, किसानलाई सिँचाइ सुविधा प्राथमिकता

सांकेतिक तस्बीर।


काठमाडौं। मनसुनमा धान खेतीका लागि देशका प्रमुख नहर प्रणालीहरू पूर्ण रूपमा सञ्चालनमा रहेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले धान सिजनमा किसानका खेतसम्म नियमित पानी पुर्‍याउन सिँचाइ प्रणाली सञ्चालनलाई प्राथमिकता दिएको छ।

विभागका अनुसार सुनसरी-मोरङ सिँचाइ आयोजनाबाट ६८ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा उपलब्ध भइरहेको छ। यसमध्ये ५५ हजार हेक्टरमा सतह सिँचाइमार्फत पानी पुर्‍याइएको छ। त्यस्तै, राजापुर सिँचाइ व्यवस्थापन कार्यालयले १४ हजार १३८ हेक्टर क्षेत्रमा सिँचाइ सेवा प्रदान गरिरहेको छ।

कमला सिँचाइ प्रणाली, भेरी करिडोर र बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाका नहर पनि धान बालीका लागि निरन्तर सञ्चालनमा छन्। जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियाका अनुसार बाली लगाउने समयमा किसानलाई पानी आपूर्ति प्राथमिकतामा राखिएको छ। त्यसैले निर्माण तथा मर्मतका काम बाली भित्र्याएपछिको समयमा गर्ने गरी कार्यतालिका मिलाइएको छ।

यसैबीच, विभिन्न क्षेत्रमा नयाँ सिँचाइ सुविधा पनि थपिएको छ। रजौरियाका अनुसार पोखरा (कास्की) मा ३५ हेक्टर, भेरी करिडोरमा १० हेक्टर र विराटनगरमा ३ हेक्टर क्षेत्रमा नयाँ सिँचाइ सुविधा विस्तार गरिएको छ।

विभागका अनुसार सिक्टा र बबईलगायतका आयोजनाबाट भदौ मसान्तसम्म करिब २०० हेक्टर नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ।


Read Previous

आत्महत्यासम्बन्धी समाचारमा संवेदनशीलता अपनाउन सञ्चारकर्मीलाई अभिमुखीकरण

Read Next

मन्त्रालयको प्रथम त्रैमासिक समीक्षा: अन्तरमन्त्रालय समन्वय प्रभावकारी बनाउन जोड

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar