Nepal Purbadhar

भरतपुरका राजमार्ग र बजार क्षेत्रमा ६२२ सीसी क्यामेराको निगरानी


चितवन। भरतपुर महानगरपालिकाका राजमार्ग, बजार तथा संवेदनशील क्षेत्रलाई सीसी क्यामेराको निगरानीमा ल्याइएको छ। महानगरपालिका र जिल्ला प्रहरी कार्यालय चितवनको सहकार्यमा ४१८ ओटा नयाँ सीसी क्यामेरा जडान गरिएसँगै शहरी सुरक्षा तथा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने तयारी गरिएको हो।

यसअघि जडान गरिएका चालु अवस्थाका २०४ ओटा पुराना क्यामेरालाई समेत नयाँ प्रणालीमा समेट्ने काम भइरहेको छ। यो प्रक्रिया पूरा भएपछि भरतपुर महानगरपालिकाभित्र ६२२ ओटा सीसी क्यामेराबाट निगरानी गर्न सकिनेछ।

जिल्ला प्रहरी कार्यालय चितवन परिसरमा एकीकृत कन्ट्रोल रुम स्थापना गरी क्यामेराको अनुगमन सुरू गरिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार क्यामेराको निगरानी तथा सञ्चालनका लागि नेपाल प्रहरीका १० जना कर्मचारीलाई एक साताको तालिम दिइएको छ। महानगरपालिकाले पनि अनुगमनमा खटिने कर्मचारीलाई आवश्यक तालिम प्रदान गरेको छ।

एकीकृत कन्ट्रोल रुमबाट महानगरभित्र जडान गरिएका क्यामेराको निगरानी गरी ट्राफिक नियम उल्लङ्घन गर्ने तथा आपराधिक गतिविधिमा संलग्न व्यक्तिको पहिचान र नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार पूर्वपश्चिम राजमार्गको टिकौली र नारायणगढ–मुग्लिन सडकखण्डको ओरालोमा सवारीसाधनको गति मापन तथा स्वचालित नम्बर प्लेट पहिचान गर्न सक्ने क्यामेरा जडान गरिएको छ।

त्यसैगरी मुग्लिन, रामनगर, पुलचोक र रत्ननगरमा स्वचालित नम्बर प्लेट रेकर्ड गर्ने प्रणालीसहितका क्यामेरा राखिएका छन्। जिल्ला प्रहरी र ट्राफिक प्रहरीले एकीकृत कन्ट्रोल रुमबाट क्यामेराको निगरानी गर्नेछन्।

यसअघि सीसी क्यामेरा नहुँदा कतिपय सवारी दुर्घटनाको वास्तविक अवस्था पहिचान गर्न कठिन हुने गरेको थियो। नयाँ प्रणाली सञ्चालनमा आएपछि दुर्घटनाको अनुसन्धान, सवारीसाधनको पहिचान र ट्राफिक व्यवस्थापनमा सहजता आउने प्रहरीको अपेक्षा छ।

भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले आपराधिक गतिविधि नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण तथा शान्ति सुरक्षा कायम गर्न महानगरपालिकाले सीसी क्यामेरा जडानमा लगानी गरेको बताए। महानगरवासीलाई सुरक्षित वातावरण उपलब्ध गराउने उद्देश्यले ठूलो रकम खर्च गरेर क्यामेरा जडान गरिएको उनको भनाइ छ।

भरतपुर महानगरपालिकाका २९ ओटै वडामा आवश्यकताअनुसार प्रतिवडा आठदेखि २० ओटासम्म क्यामेरा जडान गरिएको छ। महानगरपालिकाले गत आर्थिक वर्षको बजेटबाट मूल्य अभिवृद्धि करसहित ५ करोड ५८ लाख २० हजार ६५९ रुपैयाँ खर्च गरेको हो।

जडान गरिएका क्यामेरामध्ये आठ ओटाले सवारीसाधनको गति मापन गर्छन् भने चार ओटाले स्वचालित रूपमा नम्बर प्लेट पहिचान गर्छन्। त्यस्तै, ३६० डिग्री घुमाउन र जुम गर्न मिल्ने नौ ओटा क्यामेरा जडान गरिएका छन्।

महानगरपालिकाका अनुसार मानिसको आवतजावत र भीडभाड बढी हुने मुख्य शहरी क्षेत्रलाई प्राथमिकतामा राखेर क्यामेरा जडान गरिएको हो। प्रहरीको अध्ययनका आधारमा संवेदनशील क्षेत्र पहिचान गरी निगरानी प्रणाली विस्तार गरिएको छ।

क्यामेरा सञ्चालनका लागि आवश्यक नेटवर्क प्रयोग गर्न नेपाल टेलिकमसँग पनि सम्झौता गरिएको छ। कार्यवाहक प्रमुख अधिकारीका अनुसार नेपाल टेलिकमको भरतपुरस्थित जीपीएन नेटवर्क प्रयोग गरेबापत महानगरपालिकाले वार्षिक ४७ लाख रुपैयाँ भुक्तानी गर्नेछ।

नयाँ निगरानी प्रणालीले भरतपुरको शहरी सुरक्षा, ट्राफिक अनुशासन, दुर्घटना अनुसन्धान तथा अपराध नियन्त्रणमा सहयोग पुग्ने महानगरपालिकाको विश्वास छ।


Read Previous

दशैं मनाउन गाउँ फर्किनेको लर्को, दुई दिनमै १ लाख ९ हजारले छाडे काठमाडौं

Read Next

बेनी-जोमसोम सडक अवरुद्ध हुँदा कोरलाबाट भित्रिएका २ हजार ५०० भन्दा बढी इभी मुस्ताङमै रोकिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar