Nepal Purbadhar

मन्त्रिपरिषद्का निर्णय : १५३ पीडितलाई क्षतिपूर्ति, दुई सहसचिव र नायब महालेखापरीक्षकको बढुवा


काठमाडौं। सरकारले राष्ट्रिय मानव अधिकार आयोगको सिफारिसमा १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनेसहित ६ ओटा महत्वपूर्ण निर्णय गरेको छ।

बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आयोगबाट क्षतिपूर्तिका लागि सिफारिस भएका १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति दिएको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।

बैठकले पोर्चुगल सरकारलाई काठमाडौंमा महावाणिज्यदूतावास स्थापना गर्न सहमति दिने निर्णय पनि गरेको छ।

यस्तै, भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश र विपद् सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ।

मन्त्रिपरिषद्ले नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फका सहसचिव नवीनराज सिंहलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरेको छ।

त्यसैगरी नेपाल प्रशासन सेवा समूहीकरणतर्फका सहसचिव चक्रबहादुर बुढालाई सचिव तथा नेपाल लेखापरीक्षण सेवा समूहीकरणतर्फका नायब महालेखापरीक्षक चन्द्रकान्त भण्डारीलाई उपमहालेखापरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको छ।


Read Previous

बाढी प्रभावितका लागि ३२० वर्गफिटका दुई कोठे अस्थायी घर बनाइने

Read Next

भोटेकोशी बाढीपीडितका लागि बेलायती गोर्खा नेपाली र रिब्डीकोट बुद्ध विहारको सहयोग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar