Nepal Purbadhar

एक महिनापछि च्याममा फोरजी सेवा सञ्चालनमा

टेलिकमले पछिल्लो पटक डोल्पाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र कागकोटमा सञ्चालनमा ल्याएको फोरजी सेवाको नेटवर्क। सांकेतिक रूपमा प्रयोग गरिएको फाइल तस्बीर ।


हुम्ला। हुम्लाको अदानचुली गाउँपालिका-५ च्याममा एक महिनादेखि अवरुद्ध नेपाल टेलिकमको फोरजी सेवा पुनः सञ्चालनमा आएको छ।

स्थानीय तहको निरन्तर पहलपछि सोमबारदेखि फोरजी सेवा सञ्चालनमा आएको वडा सदस्य सिंह बोहराले बताए। सेवा सञ्चालनका लागि एक सातादेखि प्राविधिक टोलीले निरन्तर मर्मतको काम गरेको थियो।

नेपाल टेलिकमका इन्जिनियर वीरेन्द्र खत्री नेतृत्वको टोलीले प्राविधिक समस्या समाधान गरेपछि सेवा पुनः सञ्चालनमा आएको हो।

च्याममा जडान गरिएको टावरमा समस्या नभए पनि छिमेकी जिल्ला मुगुको सोरुमा रहेको टावरमा समस्या आएपछि च्यामको सञ्चार सम्पर्क अवरुद्ध भएको प्राविधिक प्रेम रोकायाले बताए। प्राविधिक टोली सोरु पुगेर उक्त टावर मर्मत गरेपछि च्याममा पनि फोरजी सेवा सञ्चालनमा आएको उनले बताए।

टावर बन्द हुँदा च्यामसहित आसपासका नागरिक लामो समयदेखि मोबाइल तथा इन्टरनेट सेवाबाट प्रभावित भएका थिए। विशेषगरी आपत्कालीन अवस्थामा फोन सम्पर्क गर्नसमेत समस्या भएको स्थानीयले गुनासो गरेका थिए।

यसअघि नेपाल टेलिकम हुम्लाका सूचना अधिकारी रामबहादुर बोहोराले टावरमा आवश्यक सामग्रीको अभाव तथा प्राविधिक समस्याका कारण मर्मतमा ढिलाइ भएको बताएका थिए।

सुर्खेतबाट गएको प्राविधिक टोलीले यसअघि टावरको अवस्थाबारे निरीक्षण गरे पनि आवश्यक सामग्री उपलब्ध नभएपछि मर्मत पूरा नगरी फर्किएको थियो।

लामो समयपछि फोरजी सेवा पुनः सञ्चालनमा आएपछि च्याम र आसपासका स्थानीयले राहत महसुस गरेका छन्।


Read Previous

मातातीर्थ-चोभार १३२ केभी प्रसारण लाइन निर्माण सकियो, ललितपुर खण्डमा अझै अवरोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar