Nepal Purbadhar

मातातीर्थ-चोभार १३२ केभी प्रसारण लाइन निर्माण सकियो, ललितपुर खण्डमा अझै अवरोध


काठमाडौं। काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ र भरपर्दो बनाउन महत्वपूर्ण मानिएको मातातीर्थ-चोभार १३२ केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ।

थानकोट-चापागाउँ-भक्तपुर १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण भएको मातातीर्थ सबस्टेसनदेखि चोभार सबस्टेसनसम्मको करिब ६ किलोमिटर लामो प्रसारण लाइन शुक्रबारदेखि चार्ज गरिने भएको छ। लाइन चार्ज भएपछि मातातीर्थ-चोभार खण्ड राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध भई नियमित रूपमा विद्युत् प्रवाह हुनेछ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले मातातीर्थ-चोभार प्रसारण लाइन र चोभार सबस्टेसन सञ्चालनमा आएपछि काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा विद्युत् माग र आपूर्तिबीच सन्तुलन कायम गर्न थप सहज हुने बताए।

उनका अनुसार चोभार सबस्टेसनदेखि ललितपुरको पाटनसम्मको करिब साढे ४ किलोमिटर १३२ केभी भूमिगत प्रसारण लाइन निर्माणलाई पनि उच्च प्राथमिकताका साथ अघि बढाइएको छ।

प्राधिकरणले आगामी हिउँदयाममा काठमाडौं उपत्यकामा बढ्ने विद्युत् माग व्यवस्थापन गर्न गत असोज ८ गते मातातीर्थ-चोभार प्रसारण लाइनलाई १५ दिनभित्र चार्ज गर्ने निर्णय गरेको थियो। लाइन चार्ज गर्न आवश्यक पूर्वाधारअन्तर्गत चोभार सबस्टेसनमा दुई ओटा वे निर्माण गरिएको छ।

चोभारबाट विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति

चोभार सबस्टेसनमा स्थानीय विद्युत् आपूर्तिका लागि ११ केभीका नौ ओटा फिडर रहेका छन्। उक्त सबस्टेसनबाट कीर्तिपुर, फर्पिङ, पुल्चोक, एकान्तकुना लगायतका क्षेत्रमा विद्युत् आपूर्ति गरिनेछ।

सबस्टेसन सञ्चालनमा आएपछि ती क्षेत्रमा विद्युत् भोल्टेजमा सुधार हुनुका साथै आपूर्ति प्रणाली थप भरपर्दो र गुणस्तरीय हुने प्राधिकरणको अपेक्षा छ।

हाल मुख्यतः त्रिशूली र मर्स्याङ्दी नदी जलाधार क्षेत्रमा रहेका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् मातातीर्थ सबस्टेसनमार्फत काठमाडौं उपत्यकामा आपूर्ति हुँदै आएको छ। मातातीर्थदेखि चोभारसम्म १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएपछि उपत्यकाको विद्युत् आपूर्ति प्रणालीमा थप वैकल्पिक मार्ग उपलब्ध हुनेछ।

पाटनसम्म भूमिगत प्रसारण लाइन निर्माणाधीन

चोभार सबस्टेसनबाट चक्रपथ हुँदै ललितपुरको लगनखेल (पाटन) सबस्टेसनसम्म करिब साढे ४ किलोमिटर १३२ केभी भूमिगत प्रसारण लाइन निर्माणाधीन छ। यसका लागि पाटन सबस्टेसनलाई समेत स्तरोन्नति गरी १३२ केभी स्तरमा सञ्चालन गर्ने काम अघि बढाइएको छ।

काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिलाई पर्याप्त, सुरक्षित, भरपर्दो र गुणस्तरीय बनाउन काठमाडौं, ललितपुर र भक्तपुरलाई समेट्ने १३२ केभी प्रसारण लाइनको रिङ संरचना निर्माण गर्ने उद्देश्यले थानकोट-चापागाउँ-भक्तपुर प्रसारण लाइन आयोजना सुरू गरिएको थियो।

नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको लगानीमा आर्थिक वर्ष २०५५/५६ देखि सुरू भएको आयोजना लामो समयदेखि स्थानीय अवरोधका कारण प्रभावित हुँदै आएको छ।

आयोजनाअन्तर्गत काठमाडौं र भक्तपुरतर्फको प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको छ। काठमाडौं खण्डमा निर्माण सम्पन्न भएको मातातीर्थ-चोभार लाइनलाई अब राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न लागिएको हो।

ललितपुर खण्डमा अझै अवरोध

ललितपुरतर्फ खोकना, बुंगमती, हरिसिद्धी र लामाटार क्षेत्रमा स्थानीय बासिन्दाले प्रसारण लाइनको रुट परिवर्तनको माग गर्दै निर्माणमा अवरोध गरेपछि उक्त खण्डको काम अघि बढ्न सकेको छैन।

स्थानीय अवरोधका कारण निर्धारित रुटमा प्रसारण लाइन निर्माण प्रभावित भएपछि वैकल्पिक रूपमा चोभारमा १३२/११ केभी सबस्टेसन निर्माण अघि बढाइएको थियो।

ललितपुर खण्डको निर्माण पूरा हुन नसक्दा काठमाडौं उपत्यकाको १३२ केभी प्रसारण प्रणालीलाई पूर्ण रिङ संरचनामा सञ्चालन गर्ने योजना भने अझै पूरा हुन सकेको छैन।


Read Previous

कांग्रेस १५ औँ महाधिवेशनः सात हजार ११४ प्रतिनिधिको अन्तिम नामावली प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar