
४० मेगावाटको राहुघा जलविद्युत् आयोजना।
काठमाडौं । म्याग्दीमा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडले प्रवर्द्धन गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि पूर्वमन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आयोजनासँग जोडिएको आफ्नो विगतको भूमिका स्मरण गरेका छन्।
घिसिङले सामाजिक सञ्जालमार्फत राहुघाट आयोजना सम्पन्न भएकोमा खुसी र गौरव व्यक्त गर्दै आयोजनाको विकासक्रममा आफूले विभिन्न भूमिकामा रहेर काम गरेको बताएका हुन्।
उनका अनुसार प्राधिकरणको ११औँ तहमा कार्यरत रहँदा उनले राहुघाट आयोजनाको निर्देशकको जिम्मेवारी सम्हालेका थिए। त्यसबेला विभिन्न कारणले ठेक्का व्यवस्थापनमा समस्या आएपछि आयोजना रुग्ण अवस्थामा पुगेको उनले उल्लेख गरेका छन्।

पुरानो ठेक्का अन्त्य गरी आयोजनाको क्षमता ३२ मेगावाटबाट बढाएर ४० मेगावाट पुर्याउने निर्णय गरिएको घिसिङले बताएका छन्। पछि प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारीमा रहँदा स्थानीय बासिन्दालाई समेत आयोजनामा सेयर स्वामित्व सुनिश्चित गर्ने उद्देश्यले कम्पनी मोडलमा आयोजना निर्माण अघि बढाइएको उनको भनाइ छ।
भारत सरकारको निर्यात–आयात (एक्जिम) बैंकबाट प्राप्त सहुलियतपूर्ण ऋण अर्थात् ‘लाइन अफ क्रेडिट’मार्फत आयोजना निर्माण गरिएको हो। आयोजना निर्माणका क्रममा विभिन्न चुनौती, उतारचढाव र कठिनाइ पार गर्दै आयोजना सम्पन्न भएको घिसिङले बताएका छन्।
‘राहुघाट आयोजना केवल एक जलविद्युत् परियोजना मात्र होइन, दृढ संकल्प, संस्थागत प्रतिबद्धता र सामूहिक प्रयासको सफल उदाहरण पनि हो,’ उनले भनेका छन्।
आयोजना सम्पन्न हुनुमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउने कर्मचारी, प्राविधिक, निर्माण व्यवसायी, स्थानीय समुदाय, लगानीकर्ता, भारत सरकार तथा अन्य सरोकारवालालाई उनले धन्यवाद तथा बधाई दिएका छन्।
रघुगंगा हाइड्रोपावर लिमिटेडमार्फत निर्माण भएको राहुघाट आयोजना नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीअन्तर्गतको आयोजना हो। आयोजना सम्पन्न भएसँगै म्याग्दीको जलविद्युत् उत्पादनमा समेत थप योगदान पुगेको छ। राहुघाट आजदेखि प्रणालीमा जोडिएको छ ।

