
काठमाडौँ। अविरल वर्षाका कारण काठमाडौँ जोड्ने प्रमुख राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा सार्वजनिक सवारीसाधन काठमाडौँमै रोकिएका छन्।
पृथ्वी राजमार्ग र बिपी राजमार्गका विभिन्न स्थानमा पहिरो गएपछि सडक अवरुद्ध भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। राजमार्ग बन्द हुँदा देशका विभिन्न भागबाट काठमाडौँ आएका तथा काठमाडौँबाट बाहिरिने सार्वजनिक बस नयाँबसपार्कलगायतका स्थानमा रोकिएका छन्।
काठमाडौँबाट हेटौँडा जाने फर्पिङको सडक भने सञ्चालनमा रहेको र साना सवारीसाधन आवतजावत गरिरहेका छन्।
यसैबीच, काठमाडौँ उपत्यकामा निरन्तर वर्षा भइरहेकाले नदीको बहाव बढ्न थालेको छ। ट्राफिक प्रहरीले नदी करिडोरमा सवारीसाधन नरोक्न र पार्किङ नगर्न आग्रह गरेको छ।
भारी वर्षा र पहिरोको जोखिम रहेकाले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा सुरक्षा निकायसँग समन्वय गरी आवतजावत गर्न यातायात व्यवसायी र चालकलाई आग्रह गरिएको छ।
असोज ८ देखि १२ गतेसम्म देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन सम्बन्धित निकायले आग्रह गरेका छन्।

