Nepal Purbadhar

बाढी प्रभावित बागेश्वरी स्कुलमा पढाइ सुरू, अभिभावक अझै ढुक्क छैनन्


धादिङ। रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित धादिङको गल्छी गाउँपालिका-६ बैरेनीस्थित बागेश्वरी माध्यमिक विद्यालयले नियमित पठनपाठन सुरू गरेको छ। बाढीका कारण प्रभावित विद्यालयले भदौ २४ देखि महेश दोभानस्थित निर्माणाधीन १५ कोठे भवनबाट तत्कालका लागि कक्षा सञ्चालन गर्दै आएको हो।

बाढीको खबरपछि कक्षाकोठामै झोला छाडेर भागेका विद्यार्थी अहिले विद्यालय फर्किएका छन्। कक्षाकोठा अपुग भएपछि विद्यालयले बिहानी र दिवा गरी दुई सिफ्टमा पठनपाठन सञ्चालन गरिरहेको विद्यालयका माध्यमिक तह इन्चार्ज तथा सूचना अधिकारी प्रकाश मल्लले बताए।

पठनपाठनसँगै विद्यालयले गल्छी गाउँपालिकाको स्वास्थ्य शाखा तथा विभिन्न संस्थाको सहयोगमा विद्यार्थीका लागि मनोसामाजिक परामर्श कक्षा पनि सञ्चालन गरिरहेको छ।

त्रिशूली नदी किनारमा रहेको नयाँ भवन पनि सुरक्षित नभएकाले विद्यालयले पुरानै भवनमा कक्षा सार्ने तयारी गरेको छ। तत्कालका लागि ईसीडीदेखि कक्षा ५ सम्म पुरानो भवनमा र कक्षा ६ देखि १२ सम्म नयाँ भवनमा कक्षा सञ्चालन गर्ने योजना रहेको मल्लले बताए।

बाढीले विद्यालयका चार ओटा भवनमा क्षति पुर्‍याएको थियो। तल्लो तलाका १७ ओटा कोठामा रहेका कम्प्युटर ल्याब, ईसीडी कक्षा र पुस्तकालयमा क्षति पुगेको थियो। बाढी आएको दिन समयमै सूचना पाएपछि विद्यार्थीलाई विद्यालयमाथिको डाँडातर्फ सुरक्षित स्थानमा सारिएको मल्लले बताए।

विद्यालयमा करिब ५ हजार स्वयंसेवक परिचालन भएर सरसफाइ तथा पुनःस्थापनामा सहयोग गरेका थिए। विभिन्न विद्यार्थी तथा युवा संगठन, स्थानीयवासी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाको सहयोगमा विद्यालयले पठनपाठनलाई पुरानै अवस्थामा फर्काउने प्रयास गरिरहेको छ।

विद्यालयले आवश्यक फर्निचर, विद्युत् र खानेपानीको व्यवस्था पनि सहयोगमार्फत जुटाइरहेको छ। मल्लका अनुसार अहिले ६० जोडी डेस्क-बेञ्च उपलब्ध छन्। १ सय ४० जोडी डेस्क-बेञ्च पुगेपछि पुरानो भवनमा कक्षा सार्ने योजना छ। भवनको रंगरोगनको काम पनि भइरहेको छ।

“सरसफाइ भइसकेको छ। फर्निचर जुटाउने क्रममै छौँ। अहिले ६० जोडी डेस्क-बेञ्च छ। १ सय ४० जोडी भएपछि पुरानै भवनमा सर्छौं। रंगरोगनको काम पनि भइरहेको छ। दसैंअघि सबै कक्षा उता सार्न सम्भव छैन,” मल्लले भने।

विद्यालयले पढाइ सुरू गरे पनि कतिपय अभिभावक भने अझै ढुक्क हुन सकेका छैनन्। विशेषगरी ईसीडीमा अध्ययन गर्ने बालबालिकाका अभिभावकले अहिले कक्षा सञ्चालन भइरहेको भवन नदी किनारमा रहेकाले सुरक्षित नभएको भन्दै आफ्ना बालबालिकालाई विद्यालय पठाउन सकेका छैनन्।

विद्यालयले अभिभावकलाई फोनमार्फत परामर्श दिँदै विद्यार्थीलाई विद्यालय फर्काउने प्रयास गरिरहेको जनाएको छ। बागेश्वरी माध्यमिक विद्यालयमा हाल ४ सय १६ जना विद्यार्थी अध्ययनरत छन्।

तस्बिर : नेपाल फोटो लाइब्रेरी


Read Previous

नयाँ डिजाइनसहित १ हजारको नोट चल्तीमा आउँदै, नक्कली/सक्कली कसरी पत्ता लगाउने?

Read Next

आँखुखोला जलविद्युत कम्पनीले ४४ मेगावाट क्षमताको अपर आँखुखोलामा लगानी गर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar