
काठमाडौं । लगातारको वर्षापछि आएको बाढी, पहिरो र लेदोका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। कतिपय सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केहीमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ। जोखिमयुक्त केही सडकखण्डमा भने निश्चित समयका लागि सवारी आवागमन रोकिएको छ।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण तथा स्थानीय प्रशासनले जारी गरेका सूचनाअनुसार मुख्य राजमार्गहरूको अवस्था यस्तो छ।
पृथ्वी राजमार्ग – दुईतर्फी सञ्चालन
धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभिर र वडा नम्बर ९ को ज्यामिरेमा खसेको लेदोसहितको पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ।
अविरल वर्षापछि शुक्रबार बिहान यी दुई स्थानमा पहिरो खसेपछि राजमार्ग केही समय एकतर्फी सञ्चालनमा थियो। पहिरो हटाएपछि अहिले दुवैतर्फ सवारी सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ।
यसअघि भदौ १० र १४ गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको ठूलो बाढीले कृष्णभिरमा सडक कटान गरेपछि पृथ्वी राजमार्ग १८ दिन अवरुद्ध भएको थियो। कृष्णभिरमा नयाँ ट्र्याक खोलेर असोज १ गतेदेखि राजमार्ग पुनः सञ्चालनमा ल्याइएको थियो।
बीपी राजमार्ग – राति सवारी आवागमन बन्द
बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै काभ्रे खण्डमा असोज ८ देखि १२ गतेसम्म बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन रोक लगाइएको छ।
काभ्रेको मनसुन प्रतिकार्य कमान्डपोस्टले सम्भावित जोखिमको अवस्था हेरी दिनको समयमा समेत सवारी सञ्चालन रोक्न सकिने जनाएको छ।
पासाङ ल्हामु राजमार्ग – पूर्ण अवरुद्ध
नुवाकोटको विदुर नगरपालिका-१० सिमटार क्षेत्रमा बाढीका कारण पासाङ ल्हामु राजमार्ग अवरुद्ध रहेको छ।
बाढीका कारण सडकमा यातायात सञ्चालन हुन नसकेको हो।
रसुवा मुख्य राजमार्ग – पूर्ण अवरुद्ध
रसुवाका मुख्य राजमार्गका केही खण्ड बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छन्। सडकको अवस्था सामान्य नहुँदासम्म यातायात सञ्चालनमा समस्या रहेको छ।
टोखा-छहरे सडक – राति आवागमन बन्द
नुवाकोटको शिवपुरी गाउँपालिका-८ स्थित घट्टेखोलामा बाढी तथा पहिरोको जोखिम रहेकाले राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।
कान्ति राजमार्ग – राति यात्रा गर्न रोक
मकवानपुरको भैंसे-भीमफेदी-देउराली-कुलेखानी खण्डमा बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म रातिको समयमा सवारी आवागमन रोक लगाइएको छ।
सिद्धिचरण लोकमार्ग – राति पूर्ण रोक
सोलुखुम्बु क्षेत्रमा भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै सिद्धिचरण लोकमार्गमा अत्यावश्यकबाहेकका सवारी साधन तथा पैदल यात्रुको आवागमन बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म रोक लगाइएको छ।
मध्यपहाडी लोकमार्ग – एकतर्फी
खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ स्थित दौतेखोलामा पहिरो गएपछि मध्यपहाडी लोकमार्गमा यातायात एकतर्फी सञ्चालन भइरहेको छ।
सालझण्डी-ढोरपाटन सडक – पूर्ण अवरुद्ध
लुम्बिनी प्रदेशअन्तर्गत अर्घाखाँचीको पाणिनी गाउँपालिका-२ स्थित ढुड्रेखोला नजिक पहिरो गएपछि सालझण्डी-ढोरपाटन सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
सिद्धार्थ राजमार्ग – एकतर्फी सञ्चालन
पाल्पाको तिनाउ गाउँपालिका-३ डामसाइट क्षेत्रमा पहिरो हटाएपछि सिद्धार्थ राजमार्गमा एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ।
सडक विभागले असोज ८ देखि १२ गतेसम्म विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै पहिरो, बाढी र गेग्रान बहावको जोखिम उच्च रहने जनाएको छ। विभागले पहिरो सम्भावित क्षेत्र, खोला-नाला तथा कमजोर सडकखण्डमा विशेष सावधानी अपनाउन र अत्यावश्यकबाहेक भारी वर्षाका बेला लामो दूरीको यात्रा नगर्न आग्रह गरेको छ।
वर्षा जारी रहेकाले सञ्चालनमा रहेका सडकखण्डमा समेत जुनसुकै बेला पहिरो वा बाढीका कारण यातायात प्रभावित हुन सक्ने भएकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझ्न प्रहरीले आग्रह गरेको छ।

