
काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। ठेक्का सम्झौताअनुसार काम नगरेपछि सम्बन्धित निकायको सिफारिसमा उनीहरूलाई एकदेखि तीन वर्षसम्म सार्वजनिक खरिदमा सहभागी हुन नपाउने गरी कारबाही गरिएको हो।
डुम्रे-बेंसीसहर-चामे सडक योजना कार्यालय लमजुङको सिफारिसमा आधुनिक कन्स्ट्रक्सन एन्ड सप्लायर्स तीन वर्षका लागि कालोसूचीमा परेको छ।
यस्तै, मोरङको सुन्दरहरैंचा नगरपालिकाको सिफारिसमा कमला शान्ति मत्स्य जेभी दुई वर्षका लागि कालोसूचीमा परेको छ। उक्त जेभीमा कमला शान्ति निर्माण सेवा र मत्स्य पोखरी कन्स्ट्रक्सन प्रालि आबद्ध छन्।
यसैगरी, दैलेखको गुराँस गाउँपालिकाको सिफारिसमा सुर्खेतको ब्ल्याक माम्बा कन्स्ट्रक्सन प्रालि एक वर्षका लागि कालोसूचीमा परेको छ।
कालोसूचीमा परेका कम्पनीले तोकिएको कारबाही अवधिभर सार्वजनिक निकायका खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्।

