
काठमाडौं । सरकारले सञ्चालन गरेको करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत कात्तिक महिनाको पहिलो १५ दिनका १६ जना उपहार विजेता सार्वजनिक गरेको छ।
अर्थ मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा क्रिकेट खेलाडीमार्फत चिट्ठा खोलेर विजेता घोषणा गरिएको हो। यस अवधिमा धनुषाका गौरीशंकर पण्डितले १० लाख रुपैयाँको मुख्य उपहार जितेका छन्।

उनले ललितपुरको धापाखेलस्थित बिगमार्टबाट ४१५ रुपैयाँको तोरीको तेल खरिद गरी ई-सेवामार्फत भुक्तानी गरेका थिए। सोही खरिदको बिलका आधारमा उनी १० लाख रुपैयाँको विजेता बनेका हुन्।
त्यसैगरी, कात्तिकको पहिलो १५ दिनका लागि दैनिक एक जनाका दरले १५ जना उपभोक्ताले एक/एक लाख रुपैयाँ बराबरको प्रोत्साहन उपहार जितेका छन्।
१० लाख रुपैयाँ जितेका पण्डितले उक्त रकमबाट गाउँमा रहेको घर मर्मत गर्ने र बाँकी रकम लोक सेवा आयोगको तयारीमा खर्च गर्ने योजना बनाएका छन्।


