Nepal Purbadhar

आत्महत्यासम्बन्धी समाचारमा संवेदनशीलता अपनाउन सञ्चारकर्मीलाई अभिमुखीकरण


काठमाडौं। आत्महत्या रोकथामका प्रयासलाई प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सञ्चारकर्मीलाई आत्महत्यासम्बन्धी जिम्मेवार समाचार सम्प्रेषणबारे अभिमुखीकरण दिएको छ।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको आयोजनामा सोमबार काठमाडौंको टेकुस्थित राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा ‘आत्महत्यासम्बन्धी जिम्मेवार मिडिया रिपोर्टिङ अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको हो।

कार्यक्रममा स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. कृष्णप्रसाद पौडेलले मानसिक स्वास्थ्य मन्त्रालयको प्राथमिकतामा रहेको विषय भएको बताए। आत्महत्या रोकथामका लागि जनचेतना अभिवृद्धि, जोखिमको समयमै पहिचान र आवश्यक मनोसामाजिक तथा स्वास्थ्य सेवामा पहुँच विस्तारसँगै सञ्चारमाध्यमको भूमिका पनि महत्त्वपूर्ण हुने उनको भनाइ थियो।

प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले आत्महत्यासम्बन्धी समाचार सम्प्रेषण गर्दा पत्रकार आचारसंहिता र विषयको संवेदनशीलतालाई ध्यान दिन आग्रह गरे। उनले घटनालाई सनसनीपूर्ण बनाउनुको सट्टा जिम्मेवार, मर्यादित र संवेदनशील भाषाशैली अपनाउनुपर्नेमा जोड दिए।

मानसिक अस्पतालका प्रमुख कन्सल्टेन्ट साइक्याट्रिस्ट डा. अनन्त अधिकारीले आत्महत्यासम्बन्धी व्यवहारका जोखिम संकेत पहिचान र रोकथामका उपायबारे जानकारी गराए। उनले समाचारमा घटनाको विस्तृत विवरण वा प्रयोग गरिएको विधिभन्दा रोकथामका उपाय, सहयोगका उपलब्ध माध्यम र सकारात्मक सन्देशलाई प्राथमिकता दिनुपर्ने बताए।

त्यस्तै, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रकी शाखा प्रमुख शीला श्रेष्ठले आत्महत्या रोकथामसम्बन्धी सञ्चारकर्मीका लागि मार्गदर्शन, २०८० का प्रावधानबारे जानकारी गराइन्।

अभिमुखीकरणपछि सञ्चारकर्मीले आत्महत्यासम्बन्धी समाचार तथा सूचना सम्प्रेषण गर्दा तथ्यपरक, संवेदनशील र जिम्मेवार पत्रकारिताको अभ्यास गर्ने अपेक्षा गरिएको छ। यसबाट आत्महत्या रोकथाममा सञ्चारमाध्यमको सकारात्मक भूमिका थप प्रभावकारी हुने आयोजकको विश्वास छ।


Read Previous

टाटा गुरुहरुका लागी टाटा BS-6 तालिम प्रशिक्षण कार्यक्रम कार्तिक १५ देखि सुरु

Read Next

धान सिजनमा प्रमुख नहर प्रणाली पूर्ण सञ्चालनमा, किसानलाई सिँचाइ सुविधा प्राथमिकता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar