Nepal Purbadhar

बाढीपहिरो प्रभावित जिल्लाको क्षति विवरण एक महिनाभित्र तयार गर्न संसदीय समितिको निर्देशन

काठमाडौँ, ५ असोजः सिंहदरबारमा सोमबार बसेको पूर्वाधार विकास समितिको बैठक । बैठकमा बाढी तथा पहिरो प्रभावित जिल्लाहरू ‘रसुवा, नुवाकोट, धादिङ’ मा जनजीवन र पूर्वाधारमा परेको क्षति, पुनर्स्थापना तथा पुनःनिर्माणका सम्बन्धमा, पुनःनिर्माणको लागि आवश्यक लगानी व्यवस्थापन सम्बन्धमा छलफल भएको थियो ।


काठमाडौं। प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले रसुवा, नुवाकोट र धादिङलगायत बाढीपहिरो प्रभावित जिल्लाका क्षतिग्रस्त सडक, पुल, खानेपानी तथा ढल व्यवस्थापनलगायतका पूर्वाधारको यथार्थ विवरण एक महिनाभित्र तयार गर्न निर्देशन दिएको छ।

समितिको सोमबार बसेको बैठकले क्षतिको विवरणका आधारमा पुनर्निर्माण तथा पुनर्स्थापनाको स्पष्ट कार्ययोजना तयार गरी आगामी बैठकमा पेस गर्न पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिएको हो।

समितिले बाढीपहिरोबाट प्रभावित पूर्वाधारलाई प्राथमिकताका आधारमा पुनर्स्थापना तथा पुनर्निर्माण गर्न, आवश्यक बजेट तथा स्रोत सुनिश्चित गर्न र संघ, प्रदेश तथा स्थानीय तहबीच प्रभावकारी समन्वय कायम गर्न पनि निर्देशन दिएको छ।

त्यस्तै, पूर्वाधार विकास मन्त्रालयबाट हुने सार्वजनिक खरिद तथा निर्माणसम्बन्धी कार्य २०८३ कात्तिक १ गतेदेखि इलेक्ट्रोनिक गभर्नमेन्ट प्रोक्योरमेन्ट (e-GP) प्रणालीमार्फत सञ्चालन गर्न समितिले निर्देशन दिएको छ।

समितिले दशैं, तिहार तथा छठलगायतका चाडपर्वमा सार्वजनिक यातायातलाई सहज, व्यवस्थित र सुरक्षित बनाउन अध्ययन गरी सुझावसहितको प्रतिवेदन पेस गर्न उपसमिति गठन गर्ने निर्णयसमेत गरेको छ।

उपसमितिले चाडपर्वमा यात्रुको चाप, सार्वजनिक सवारीको उपलब्धता, रुट व्यवस्थापन, भाडादर, अग्रिम टिकट बुकिङ, बढी भाडा असुली, सवारीको क्षमता, तीव्र गति, चालक व्यवस्थापन तथा सडक सुरक्षाको अवस्था अध्ययन गर्नेछ।

त्यस्तै, प्रमुख राजमार्ग तथा सडकखण्डको अवस्था, सडक मर्मत, पहिरो तथा सडक अवरोध र ट्राफिक जामको अनुगमन गरी यातायात सहजीकरणका लागि सुझाव दिने कार्यादेश पनि उपसमितिलाई दिइएको छ।

उपसमितिले सम्बन्धित मन्त्रालय, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा यातायात व्यवसायीसँग समन्वय गरी तीन महिनाभित्र समितिसमक्ष प्रतिवेदन पेस गर्नेछ।


Read Previous

एक हप्तामा ट्रायम्फका चार ३एस सुविधा सहितका शोरुम सञ्चालनमा, चावहिल-बौद्धमा पनि विस्तार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar