
काठमाडौं। रसुवा जिल्लामा आएको आकस्मिक बाढीका कारण जनधनसँगै घर, सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनामा उल्लेख्य क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार बाढीका कारण रसुवागढी, चिलिमे, त्रिशूली-३ ए, त्रिशूली-३ बी हब २२० केभी सबस्टेसन, त्रिशूली तथा देवीघाट जलविद्युत् केन्द्र र विभिन्न वितरण संरचना क्षतिग्रस्त भएका छन्। संरचनामा क्षति पुगेपछि विद्युत् आपूर्ति अवरुद्ध भएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले विद्युत् आपूर्ति नियमित गर्न हरसम्भव प्रयास भइरहेको जनाउँदै आपूर्ति नियमित नहुँदासम्म धैर्य गर्न र सोसम्बन्धी सूचना प्रवाह गरिदिन सम्बन्धित सबैलाई आग्रह गरेको छ।
बाढीको जोखिम अझै कायम रहन सक्ने भएकाले नदी तथा खोलाको आसपास, तटीय क्षेत्र र जोखिमयुक्त स्थानमा रहेका सर्वसाधारण तथा प्राधिकरणका कर्मचारीलाई उच्च सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको छ। जोखिम देखिए सुरक्षित स्थानमा स्थानान्तरण हुनसमेत आग्रह गरिएको छ।
यस्तै, प्राधिकरणले आधिकारिक सूचनाबाहेकका अपुष्ट समाचार तथा अफवाहमा विश्वास नगर्न पनि सबैमा अनुरोध गरेको छ।


