
काठमाडौं। रसुवाको स्याफ्रुबेँसी, टिमुरेलगायतका क्षेत्रमा बुधबार बिहान आएको बाढीपछि सरकारले उद्धार, खोज तथा राहत कार्यलाई तीव्र बनाएको छ।
बाढीबाट जोखिममा रहेका तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको छ। बाढीबाट थप प्रभावित हुनसक्ने क्षेत्रमा रहेका नागरिकलाई समेत सुरक्षित स्थानमा सर्न सरकारले निरन्तर सूचना प्रवाह गरिरहेको जनाएको छ।
बाढीका कारण जोखिम बढेकाले पृथ्वी राजमार्ग, गल्छी-नुवाकोट-रसुवा-स्याफ्रुबेँसी सडक तथा मुग्लिन-नारायणगढ सडकमा यात्रा नगर्न तथा नगराउन सरकारले आग्रह गरेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, जिल्ला प्रशासन तथा विपद् व्यवस्थापनसम्बन्धी निकायले प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य अघि बढाएका छन्।
सम्भावित उद्धार तथा राहतका लागि मेडिकल टोलीसहित नेपाली सेनाका दुई ओटा हेलिकप्टर प्रभावित क्षेत्रतर्फ पठाइएको छ। निजी क्षेत्रका हेलिकप्टरलाई समेत उद्धार तथा खोजीका लागि तयारी अवस्थामा राखिएको सरकारले जनाएको छ।
यसैबीच सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बसिरहेको छ। प्रधानमन्त्री शाहले विपद् अवस्थाबारे छलफल गर्न बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकसमेत बोलाएका छन्।
बाढीबाट भएको क्षति तथा प्रभावितको अवस्थाबारे विस्तृत विवरण संकलन भइरहेको छ।

