
DCIM105MEDIADJI_0324.JPG
पोखरा। गण्डकी प्रदेश सभाको नयाँ भवन पोखरा महानगरपालिका-३ नदीपुरमा निर्माणाधीन छ। प्रदेश सरकारले २५ करोड ३७ लाख रुपैयाँभन्दा बढी लगानीमा निर्माण गरिरहेको भवनको काम एक वर्षदेखि जारी छ।
७ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको तीनतले भवनको मुख्य संरचनामा अहिले पिल्लर ठड्याएर भुईंतलाको स्ट्रक्चर निर्माण भइरहेको छ। भवन निर्माणका लागि शहरी विकास तथा भवन कार्यालय कास्की र श्रेष्ठ एन्ड सन्स–इस्ट वेस्ट जेभीबीच २०८१ माघ १८ गते भ्याटसहित २५ करोड ३७ लाख ८२ हजार ८६० रुपैयाँमा सम्झौता भएको थियो।
सम्झौताअनुसार निर्माण कम्पनीले ३६ महिनाभित्र अर्थात् २०८४ माघ १७ गतेसम्म भवन निर्माण सम्पन्न गर्नुपर्नेछ। यही समयसीमाका कारण हाल कार्यरत दोस्रो कार्यकालका सांसदले भने नयाँ भवनमा बैठक बस्न पाउने छैनन्। उनीहरूको कार्यकाल २०८४ मंसिरमा सकिने भएकाले निर्माणमा ढिलाइ नभए तेस्रो कार्यकालका सांसदले नयाँ भवन प्रयोग गर्नेछन्।
नयाँ भवनमा पाँच ओटा संसदीय दलका बैठक कक्ष र पाँच ओटा विशिष्ट कार्यालय रहनेछन्। पहिलो तलामा मुख्य बैठक कक्ष, पिजन होल, सामान्य तथा विशिष्ट कक्ष, मार्सल कार्यालय, कार्यव्यवस्था परामर्श समितिको बैठक कक्ष, पुस्तकालय, भिडियो कन्फरेन्स तथा टिभी स्टुडियो रहनेछ।
दोस्रो तलामा ८० जना क्षमताको दर्शकदीर्घा, बहुउद्देश्यीय बैठक कक्ष, स्टोर तथा बार्दली रहनेछ। भवनमा दुई ओटा लिफ्टका साथै बाहिरी भागमा चमेनागृह र पार्किङको व्यवस्था गरिनेछ।
भवन निर्माणको काम सुरु हुनुअघि नै गण्डकी प्रदेश सभाले आफ्नै स्थायी भवनबाट सञ्चालन हुन पाएको छैन। जेन–जी आन्दोलनका क्रममा संसद् भवन क्षतिग्रस्त भएपछि प्रदेश सभाको बैठक कृषि मन्त्रालयको सभाहलबाट सञ्चालन हुँदै आएको थियो। हाल पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयमा तयार पारिएको अस्थायी सभाहलबाट बैठक सञ्चालन भइरहेको छ।
नयाँ भवन निर्माण सम्पन्न नहुँदासम्म प्रदेश सभा यही अस्थायी संरचनाबाट सञ्चालन हुनेछ।






तस्बिर : अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी

