
काठमाडौं। रसुवामा बुधबार आएको ठूलो बाढीका कारण नेपाल विद्युत् प्राधिकरणअन्तर्गतका विभिन्न विद्युत् आयोजनाका पावर हाउस तथा संरचनामा ठूलो क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
बाढीका कारण रसुवागढी, त्रिशूली-३ बी हब, त्रिशूली जलविद्युत्, माथिल्लो त्रिशूली-३ ए, देवीघाट लगायतका पावर हाउस तथा आसपासका संरचनामा क्षति पुगेको प्रारम्भिक विवरण आएको छ।
बाढी प्रभावित क्षेत्रमा कार्यरत प्राधिकरणका कर्मचारीसँग सम्पर्क गर्ने प्रयास भइरहेको जनाइएको छ। ती क्षेत्रमा सञ्चार तथा आवागमन प्रभावित भएकाले क्षतिको विस्तृत विवरण र कर्मचारीको अवस्थाबारे तत्काल यकिन हुन नसकेको बताइएको छ।
रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको ठूलो बाढीका कारण नदीको बहाव एक्कासि बढेको हो। बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा समेत सतर्कता अपनाउन आग्रह गरिएको छ।
क्षतिको विस्तृत विवरण तथा कर्मचारीको अवस्थाबारे थप विवरण आउन बाँकी छ।

