Nepal Purbadhar

रसुवा बाढीमा निजी हेलिकप्टरसमेत स्ट्यान्डबाइ राख्न प्रधानमन्त्रीको निर्देशन


काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवामा आएको बाढीका कारण प्रभावित क्षेत्रमा उद्धार, राहत तथा खोजीकार्यका लागि निजी कम्पनीका हेलिकप्टरसमेत स्ट्यान्डबाइ राख्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री शाहले रसुवा बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि प्रयोग हुने सबै हेलिकप्टरलाई तयारी अवस्थामा राख्न भनिएको जानकारी दिएका हुन् । निजी हेलिकप्टर कम्पनीहरूलाई समेत आफ्ना हेलिकप्टर स्ट्यान्डबाइ राख्न जानकारी गराइएको उनले बताएका छन् ।

प्रधानमन्त्री शाहका अनुसार उद्धार तथा राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको छ । प्रभावित क्षेत्रमा थप जनशक्ति आवश्यक पर्ने भएकाले अन्य जिल्लाबाट समेत अतिरिक्त जनशक्ति पठाइएको उनले बताएका छन् ।

विपद् व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाउँदै मेडिकल टिम, नेपाल स्काउट, रेडक्रसलगायतका संस्थासँग समन्वय गरी आवश्यक कदम चाल्न निर्देशन दिइएको प्रधानमन्त्री शाहले बताएका छन् ।

प्रभावित क्षेत्रमा अतिरिक्त एम्बुलेन्स तथा मेडिकल जनशक्ति पठाउने प्रक्रिया पनि अघि बढाइएको उनले जानकारी दिएका छन् ।

बाढीको जोखिममा रहेका तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइएको छ । सम्भावित जोखिमबारे एसएमएस तथा कलमार्फत स्थानीय बासिन्दालाई जानकारी गराउँदै सुरक्षित स्थानमा जान अलर्ट गरिएको प्रधानमन्त्री शाहले बताएका छन् ।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्री शाहले केही बेरमै उच्चस्तरीय बैठकसमेत बोलाइएको जानकारी दिएका छन् ।


Read Previous

रसुवा बाढीबारे प्रधानमन्त्रीको स्टाटस: प्रभावित क्षेत्रमा सबै सुरक्षा निकाय परिचालन गरिएको छ

Read Next

चीनबाट आएको बाढी त्रिशूलीतर्फ, काठमाडौं उपत्यकाबाट तीन जिल्लातर्फका सवारी रोकियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar