
काठमाडौं। रसुवा जिल्लाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि एमभी दुगड समूहले १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ।
समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने प्रयोजनका लागि उक्त रकम बराबरको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेको हो।
समूहका अध्यक्ष मोतीलाल दुगड, उपाध्यक्ष विवेक दुगड तथा सञ्चालक शुभम दुगडले चेक हस्तान्तरण गरेका हुन्। समूह तथा यसको अटोमोबाइल्स डिभिजनमा कार्यरत कर्मचारीको स्वेच्छिक आर्थिक सहयोगसमेत समेटेर उक्त रकम जुटाइएको समूहले जनाएको छ।
बाढी तथा पहिरोबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै समूहले शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै बेपत्ता व्यक्तिहरूको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
समूहले विपद्बाट प्रभावित तथा विस्थापित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सरकार, सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न संघसंस्थाले गरिरहेको प्रयासप्रति सम्मान व्यक्त गरेको छ।
समूहले जलवायु परिवर्तन तथा ग्लोबल वार्मिङका कारण यस्ता विनाशकारी विपद्का घटना बढिरहेको भन्दै वातावरण संरक्षणका लागि २०७८ सालदेखि देशव्यापी वृक्षारोपण कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। हालसम्म वन क्षेत्रमा ३ लाखभन्दा बढी बोटबिरुवा तथा ६ किलोमिटरभन्दा लामो राजमार्ग खण्डमा वृक्षारोपण गरिएको समूहको भनाइ छ।
त्यस्तै, विभिन्न विद्यालय, प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी कार्यालय परिसरमा २५ हजारभन्दा बढी उन्नत जातका फलफूलसहितका बिरुवा रोपेर संरक्षण गर्ने काम भइरहेको समूहले जनाएको छ।
एमभी दुगड समूहले आगामी दिनमा पनि वातावरण संरक्षण तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
