Nepal Purbadhar

बूढीगण्डकी बाढीको वितण्डा : ६ पुल बगायो, १० जना सम्पर्कविहीन, ३५ घर बगे, बस्तीमा क्षति


गोरखा। गोरखामा बूढीगण्डकी नदीमा आएको भीषण बाढीले ६ ओटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन्। बाढीले बस्ती र पूर्वाधारमा समेत ठूलो क्षति पुर्‍याएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले राष्ट्रिय समाचार समिति (रासस)लाई दिएको जानकारीअनुसार बाढीले दुई ओटा मोटरेबल पुल र चार ओटा झोलुङ्गे पुल बगाएको छ।

बाढीले आरुघाट र धादिङको त्रिपुरासुन्दरी जोड्ने पुल तथा आरुघाट गाउँपालिकाको सोती र मान्बु जोड्ने पुल बगाएको छ। त्यस्तै, धार्चे गाउँपालिका-१ र ३ जोड्ने बेलीब्रिज पनि बाढीले बगाएको शर्माले बताएका छन्।

झोलुङ्गे पुलतर्फ माछीखोला-केरौँजा जोड्ने पुल, चुमनुब्रीको ठाडो भर्‍याङ र जगत जोड्ने पुल तथा सिर्दिबासको घट्टेखोला र फिलिम जोड्ने पुल बाढीले बगाएको विवरण प्राप्त भएको छ।

बाढीले चुमनुब्री गाउँपालिका-३ अन्तर्गत पैयुँ र बगरका करिब ३५ ओटा घर बगाएको छ। जगत, सल्लेरी, दोभान र घट्टेखोला गाउँमा समेत बाढीले क्षति पुर्‍याएको छ।

बाढीका कारण विभिन्न स्थानमा आवागमन प्रभावित भएको छ भने नदी तटीय क्षेत्रमा जोखिम बढेको छ। कम्तीमा १० जना सम्पर्कविहीन भएपछि उनीहरूको अवस्थाबारे चिन्ता बढेको छ।

बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ। प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई प्राथमिकता दिनुपर्ने अवस्था छ।


Read Previous

बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हेलिकप्टरमार्फत उद्धार

Read Next

बूढीगण्डकीको बाढीले चार जलविद्युत् आयोजनामा क्षति, क्याम्पदेखि बेलिब्रिजसम्म प्रभावित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar