Nepal Purbadhar

वर्षा नभए पनि पहिरोले नदी थुनिएको प्रारम्भिक अनुमान, बाढीमा फसेका ३६ जनाको उद्धार


काठमाडौं। गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढी माथिल्लो क्षेत्रमा पहिरो खसेर नदी थुनिएपछि आएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। बाढीको उद्गमस्थल र आसपासका क्षेत्रमा भीषण बाढी आउने गरी वर्षा नभएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले विज्ञप्ति जारी गर्दै पछिल्लो मौसम विवरणअनुसार बाढी प्रभावित क्षेत्रमा ठूलो वर्षा नभएको स्पष्ट पारेको छ।

जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका प्रवक्ता राजन भट्टराईका अनुसार पछिल्लो २४ घण्टामा उक्त क्षेत्रमा छिटपुट वर्षा मात्रै भएको थियो।

प्रारम्भिक सूचना र भू-उपग्रहबाट प्राप्त तस्बिरका आधारमा माथिल्लो नदी क्षेत्रमा पहिरो खसेर पानी थुनिएको र पछि एकैपटक बगेपछि आकस्मिक बाढी आएको हुन सक्ने अनुमान गरिएको उनले बताएका छन्।

नदी थुनिएर बनेको अस्थायी अवरोध फुट्दा एक्कासि ठूलो परिमाणमा पानी, लेदो र गेग्रान बग्न सक्ने भएकाले तल्लो तटीय क्षेत्रमा जोखिम बढेको छ। यद्यपि, बाढीको वास्तविक कारण पुष्टि हुन थप अध्ययन आवश्यक छ।

बाढीमा फसेका ३६ जनाको उद्धार

यसैबीच, बूढीगण्डकी नदीमा आएको बाढीका कारण जोखिममा परेका ३६ जनाको नेपाली सेनाले उद्धार गरेको छ।

सेनाका अनुसार जगत् गाउँबाट ६ जना, न्याक्फेदीबाट ९ जना, यारुबाट ९ जना र पायुबाट १२ जनाको उद्धार गरिएको हो।

यारुबाट उद्धार गरिएका ९ जनामा एक शिशु र एक विदेशी नागरिकसमेत रहेका छन्।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेको छ। नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान र सतर्कता अपनाउन आग्रह गरिएको छ।


Read Previous

बूढीगण्डकीको बाढीले चार जलविद्युत् आयोजनामा क्षति, क्याम्पदेखि बेलिब्रिजसम्म प्रभावित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar