Nepal Purbadhar

बूढीगण्डकीको बाढीले चार जलविद्युत् आयोजनामा क्षति, क्याम्पदेखि बेलिब्रिजसम्म प्रभावित


गोरखा। बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले गोरखाको यस क्षेत्रका चार ओटा जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ। बाढीले आयोजनाका क्याम्प, पहुँच सडक, पुल, निर्माण उपकरण तथा सामग्रीमा क्षति पुर्‍याएको प्रारम्भिक विवरण प्राप्त भएको छ।

प्राप्त विवरणअनुसार ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनादेखि दोभान खोला, यारु खोला र माछा खोला जलविद्युत् आयोजनाका संरचना प्रभावित भएका छन्।

कुन आयोजनामा कति क्षति?

१. बूढीगण्डकी जलविद्युत् आयोजना (३४१ मेगावाट)

टाइम्स इनर्जी प्रालिद्वारा प्रवर्द्धित यस आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ। बाढीका कारण केही निर्माण उपकरणसमेत बगेको प्रारम्भिक विवरणमा उल्लेख छ।

२. दोभान खोला जलविद्युत् आयोजना (२४.५ मेगावाट)

दोभान खोला हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित आयोजनाको क्याम्प क्षेत्रका केही घरमा क्षति पुगेको छ। बाढीले आयोजनाअन्तर्गतको एउटा बेलीब्रिजसमेत बगाएको छ।

३. यारु खोला जलविद्युत् आयोजना (३०.५९ मेगावाट)

यारु हाइड्रो पावर प्रालिद्वारा प्रवर्द्धित आयोजनाको बेलीब्रिजमा क्षति पुगेको छ। साथै, निर्माणमा प्रयोग हुने विभिन्न सामग्री तथा उपकरण बाढीले बगाएको विवरण प्राप्त भएको छ।

४. माछा खोला जलविद्युत् आयोजना (१६ मेगावाट)

वाटर इनर्जी डेभलपमेन्ट प्रालिद्वारा प्रवर्द्धित आयोजनाको पहुँच सडक र आयोजना स्थलसम्म पुग्ने पुलमा क्षति पुगेको छ। यसले आयोजनास्थलसम्मको आवागमन तथा निर्माण कार्य प्रभावित हुन सक्ने देखिएको छ।

बूढीगण्डकी नदीमा आएको बाढीले जलविद्युत् आयोजनाका संरचना र निर्माण सामग्रीमा पुर्‍याएको क्षतिको विस्तृत विवरण संकलन हुन बाँकी छ। प्रारम्भिक विवरणअनुसार चार आयोजनाका क्याम्प, पुल, सडक तथा निर्माण उपकरण प्रभावित भएका छन्।

क्षतिको पूर्ण विवरण प्राप्त भएपछि आयोजनाहरूको निर्माण कार्य, पुनःस्थापना र थप आर्थिक क्षतिको अवस्थाबारे स्पष्ट हुनेछ।


Read Previous

बूढीगण्डकी बाढीको वितण्डा : ६ पुल बगायो, १० जना सम्पर्कविहीन, ३५ घर बगे, बस्तीमा क्षति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar