
काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चालु आर्थिक वर्ष २०८३/८४ लाई नेपालको दूरसञ्चार सेवामा अभूतपूर्व सुधारको वर्ष बनाउने सरकारको लक्ष्य रहेको बताएका छन्। उनले टेलिफोन तथा इन्टरनेट सेवाको पहुँच विस्तार र गुणस्तर सुधारमा उल्लेखनीय परिवर्तन देखिने गरी काम गर्न मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका छन्।
बिहीबार सूचना तथा सञ्चार मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले दुर्गम क्षेत्रसम्म फोरजी सेवा विस्तार, फाइभजी सेवाको सुरुआत, सेवाको गुणस्तर सुधार र नागरिकलाई प्रभावकारी सेवा प्रवाहलाई चालु आर्थिक वर्षको प्रमुख प्राथमिकतामा राखिएको स्पष्ट पारे।
उनले विगतका वर्षमा निर्धारण गरिएका लक्ष्य अपेक्षाअनुसार हासिल हुन नसकेको उल्लेख गर्दै अब परिणाम देखिने गरी काम गर्नुपर्ने समय आएको बताए। दूरसञ्चार क्षेत्रमा सुधारका लागि आवश्यक नीतिगत, कानुनी तथा अन्तरनिकाय समन्वयमा मन्त्रालयले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यान्वयनमा ढिलासुस्ती स्वीकार्य नहुने उनको भनाइ थियो।
मन्त्री तिमिल्सिनाले कर्मचारीलाई निर्देशन दिँदै भने, “यो वर्ष टेलिफोन र इन्टरनेट सेवा सुधारको वर्ष हुनेछ। पहुँच र गुणस्तरका सवालमा हामी अभूतपूर्व परिवर्तनको लक्ष्यसहित अघि बढिरहेका छौं। सरकारले दूरसञ्चार क्षेत्रलाई यो वर्षको सबैभन्दा महत्वाकांक्षी क्षेत्रका रूपमा लिएको छ।”
उनले फोरजी विस्तार र फाइभजी सेवा सुरु गर्ने विषयमा ठोस नतिजा हासिल गर्न सबै निकाय जिम्मेवार बन्नुपर्नेमा जोड दिए। नीतिगत वा कानुनी सहयोग आवश्यक परे मन्त्रालय पूर्ण रूपमा तयार रहेको उल्लेख गर्दै उनले समन्वय अभावका कारण कुनै पनि योजना प्रभावित हुन नहुने बताए।
मन्त्री तिमिल्सिनाले मन्त्रालय र मातहतका निकायबीच समन्वय कमजोर रहेको आफूले महसुस गरेको उल्लेख गर्दै त्यसलाई तत्काल सुधार गर्न निर्देशन दिए। उनले परिणाममुखी कार्यसम्पादन, कानुनको पूर्ण पालना र काम गर्ने संस्कृतिमा परिवर्तन आवश्यक रहेको बताए।
बैठकमा उनले मन्त्रालय तथा मातहतका निकायको कमजोर पुँजीगत खर्च र कार्यान्वयन क्षमताप्रति असन्तुष्टि व्यक्त गर्दै समयमै समस्या समाधान गर्ने कार्यसंस्कृतिको विकास गर्न निर्देशन दिए।
गोरखापत्र संस्थान, राष्ट्रिय समाचार समिति र सार्वजनिक सेवा प्रसारण संस्थालाई थप प्रभावकारी, व्यावसायिक र प्रतिस्पर्धी बनाउन सरकारले सुधारका काम अघि बढाइसकेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले सार्वजनिक सञ्चार संस्थाको विश्वसनीयता र समाचार सामग्रीको गुणस्तर सुधार गर्नुपर्ने आवश्यकता औँल्याए।
उनले मन्त्रालय र मातहतका निकायमा बाँकी रहेका आन्तरिक लेखापरीक्षण चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्न निर्देशन दिँदै चालु आर्थिक वर्षको पहिलो त्रैमासलाई निर्णायक अवधि भएको बताए। पहिलो तीन महिनामै उल्लेखनीय नतिजा देखाउन र कार्यसम्पादन सम्झौतामा स्पष्ट सुधारका सूचक समावेश गर्न उनले निर्देशन दिए।
बैठकमा गत आर्थिक वर्षको प्रगति, विकास आयोजनाको कार्यान्वयन अवस्था, बजेट खर्च, शासकीय सुधारका कार्यक्रम, मन्त्रालय तथा मातहतका निकायले भोगिरहेका समस्या र चालु आर्थिक वर्षका प्राथमिकतामाथि विस्तृत समीक्षा गरिएको थियो।
