
फाइल तस्बीर।
काठमाडौं। यातायात व्यवस्था विभागले विगत चार वर्षदेखि विभिन्न प्राविधिक तथा व्यवस्थापकीय कारणले छपाइ हुन बाँकी रहेका सबै सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) छपाइ सम्पन्न गरेको जनाएको छ।
विभागका अनुसार छपाइ मेसिन, जनशक्ति व्यवस्थापन, सफ्टवेयर तथा अन्य स्रोतगत समस्याका कारण लाइसेन्स छपाइ प्रभावित हुँदै आएको थियो। विभाग र सुरक्षण मुद्रण केन्द्रबीच २०८२ कात्तिक १२ गते भएको सम्झौताअनुसार लाइसेन्सको छपाइ सुरक्षण मुद्रण केन्द्रले र वितरणको व्यवस्था यातायात व्यवस्था विभागले गर्दै आएको छ।
विभागले २०८३ असार मसान्तसम्म छपाइ हुन बाँकी रहेका सबै लाइसेन्स छापिसकेको जनाएको छ। २०८३ साउन ७ गतेसम्म २७ लाख ४७ हजार २५३ वटा लाइसेन्स कार्ड हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था कार्यालयमा वितरणका लागि पठाइसकिएको विभागले जनाएको छ।
विभागका अनुसार म्याद सकिन एक वर्षभन्दा कम अवधि बाँकी रहेका लाइसेन्स भने छापिएको छैन। त्यस्ता लाइसेन्सधनीले आफूलाई पायक पर्ने यातायात व्यवस्था कार्यालयमा गई नवीकरण गरेपछि १० वर्ष अवधिको नयाँ लाइसेन्स प्राप्त गर्न सक्ने व्यवस्था भएकाले नवीकरण गर्न अनुरोध गरिएको छ।
लाइसेन्स छपाइ र वितरणमा भएको ढिलाइका क्रममा धैर्यता देखाएको भन्दै विभागले सेवाग्राहीप्रति कृतज्ञता व्यक्त गरेको छ।
विभागले आगामी दिनमा नयाँ लाइसेन्स प्राप्ति तथा नवीकरण प्रक्रियालाई थप सहज बनाउन प्रणालीमा सुधार गरिएको जनाएको छ। अब राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा विवरण प्रमाणीकरण गर्ने तथा अनलाइनमार्फत राजस्व भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ।
त्यसैगरी, सवारी चालक अनुमतिपत्रमा रहेका विवरणगत त्रुटि सच्याउने, लाइसेन्स छपाइ तथा वितरणसम्बन्धी सेवा सम्बन्धित कार्यालयबाट तत्काल उपलब्ध गराउने व्यवस्था मिलाइएको विभागले जनाएको छ। वैदेशिक रोजगारीमा जाने सेवाग्राहीका लागि द्रुत छपाइ तथा कार्ड वितरण सेवासमेत सम्बन्धित यातायात व्यवस्था कार्यालयबाट उपलब्ध हुने विभागले जनाएको छ।

