
काठमाडौं। चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ६ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको आयोगको २७औँ बैठकले नेपाल सरकारबाट विनियोजित ५ अर्ब ९९ करोड २१ लाख रुपैयाँ र आयोगको आन्तरिक स्रोतबाट ५६ करोड ४ लाख ९८ हजार रुपैयाँ खर्च गर्ने कार्यक्रम तथा बजेट अनुमोदन गरेको हो।
बैठकले गत आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म आयोगको आन्तरिक स्रोतमा रहेको ९९ करोड ८५ लाख ९६ हजार २६७ रुपैयाँ बचत तथा चालु आर्थिक वर्षमा आन्तरिक स्रोतबाट प्राप्त हुने अनुमानित ३५ करोड रुपैयाँसहित कुल १ अर्ब ३४ करोड ८५ लाख ९६ हजार २६७ रुपैयाँमध्ये चालु वर्षका लागि ५६ करोड ४ लाख ९८ हजार रुपैयाँ खर्च गर्ने निर्णय गरेको आयोगले जनाएको छ।
स्वीकृत आन्तरिक बजेटमध्ये ४७ करोड ४२ लाख ९८ हजार रुपैयाँ चालु खर्चका लागि तथा ८ करोड ६२ लाख रुपैयाँ पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ।
आयोगको बैठकमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, आयोगका उपाध्यक्ष प्रा. डा. देवेन्द्रबहादुर खत्री तथा सदस्यसचिव बसन्तप्रसाद कोइरालालगायत सहभागी थिए।
