Nepal Purbadhar

नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन


काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमका टेलिफोन टावरमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायबीच प्रभावकारी समन्वय गरी कार्ययोजनासहित अघि बढ्न निर्देशन दिएका छन्।

बुधबार सञ्चार मन्त्रालयमा आयोजित अन्तरनिकाय छलफलमा मन्त्री तिमिल्सिनाले नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच स्थायी समन्वय प्रणाली विकास गर्न तथा संयुक्त कार्यसमूह गठन गरी टावरमा विद्युत् पहुँच विस्तारको काम अघि बढाउन निर्देशन दिएका हुन्।

छलफलमा नेपाल टेलिकमका बेस ट्रान्ससिभर स्टेशन (बीटीएस), टावर तथा अन्य दूरसञ्चार उपकरणमा भरपर्दो विद्युत् आपूर्ति नहुँदा देशका विभिन्न क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवा प्रभावित भइरहेको विषयमा समीक्षा गरिएको थियो।

मन्त्री तिमिल्सिनाले सम्भव भएसम्म सबै टेलिकम टावरमा राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् पुर्‍याउने गरी योजना बनाउन र विद्युत् नपुगेका टावरको विवरण नेपाल विद्युत् प्राधिकरणलाई उपलब्ध गराएर प्राथमिकताका आधारमा विद्युत् विस्तार गर्न निर्देशन दिए। उनले कम भोल्टेजका कारण सेवा प्रभावित भएका क्षेत्रमा वितरण प्रणालीको क्षमता विस्तार गर्न पनि जोड दिए।

त्यस्तै, फोरजी सेवाको गुणस्तर सुधार गर्दै क्रमशः फाइभजी सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणलाई तीव्रता दिन र दुर्गम क्षेत्रमा दूरसञ्चार सेवा विस्तारका लागि ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) प्रभावकारी रूपमा परिचालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।

छलफलमा काठमाडौं उपत्यकालगायत प्रमुख सहरमा अव्यवस्थित रूपमा झुन्डिएका विद्युत् तथा दूरसञ्चारका तार व्यवस्थापनका लागि सम्बन्धित निकायबीच सहकार्य बढाउने विषयमा पनि छलफल भएको थियो।

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले हाल ३१६ वटा टेलिकम टावरमा राष्ट्रिय प्रसारण लाइनबाट भरपर्दो विद्युत् उपलब्ध नभएको र ती टावर सौर्य ऊर्जाको भरमा सञ्चालन भइरहेको जानकारी दिइन्।

उनका अनुसार नेपाल टेलिकमले करिब दुई हजार नयाँ टावर निर्माण गर्ने योजना अघि बढाएको छ, जसमध्ये करिब १,४०० टावरमा नयाँ विद्युत् लाइन विस्तार गर्नुपर्ने अवस्था छ। सञ्चालनमा रहेका केही टावरमा पनि कम भोल्टेजका कारण उपकरण पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको उनले बताइन्।

नेपाल विद्युत् प्राधिकरणले टेलिकम टावरमा विद्युत् पहुँच विस्तारका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। नयाँ टावर निर्माण हुने स्थानमा विद्युत् पूर्वाधार पनि सँगसँगै विस्तार गर्ने गरी संयुक्त योजना बनाउने तथा कम भोल्टेजको समस्या समाधानका लागि प्रसारण र वितरण प्रणालीको क्षमता विस्तारलाई प्राथमिकतामा राखिने प्राधिकरणले जनाएको छ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले राष्ट्रिय प्रसारण लाइन पुर्‍याउन कठिन हुने दुर्गम क्षेत्रमा लघुजलविद्युत् र सौर्य ऊर्जामार्फत टेलिकम टावरमा विद्युत् उपलब्ध गराउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।


Read Previous

चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोडको बजेट स्वीकृत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar