Nepal Purbadhar

अवैध र मिसावटयुक्त सामान बेच्नेलाई कडा कारबाही गर्ने वाणिज्य विभागको चेतावनी


काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा लेबल नभएका, न्यून गुणस्तरका, मिसावटयुक्त तथा चोरी पैठारी गरिएका सामान बिक्री-वितरण गर्ने व्यवसायीलाई कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ।

विभागले चालु आर्थिक वर्ष २०८३/८४ को सूचना नं. ०३/०८३-८४ जारी गर्दै भौतिक बजारसँगै डिजिटल (अनलाइन) प्लेटफर्ममार्फत दैनिक उपभोगका खाद्यवस्तु, पेय पदार्थ र लत्ताकपडा लगायतका सामग्री अवैध रूपमा बिक्री भइरहेको भन्ने उजुरी र जनगुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विभागका अनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ ले उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको छ। ऐनविपरीत मिसावट गर्ने, चोरी पैठारीका सामान बिक्री गर्ने तथा न्यून गुणस्तरका वस्तु बजारमा ल्याउने कार्य पूर्ण रूपमा दण्डनीय रहेको विभागले स्पष्ट पारेको छ।

मन्त्रालयको बजार स्वच्छता कायम गर्ने नीतिअनुसार उत्पादन, पैठारी, ढुवानी, भण्डारण र बिक्री-वितरणमा संलग्न सबै व्यवसायीलाई कानुनले तोकेका दायित्व, सर्त तथा बन्देज पूर्ण रूपमा पालना गर्न विभागले निर्देशन दिएको छ।

विभागले आगामी दिनमा बजार अनुगमनलाई अझ प्रभावकारी र तीव्र बनाइने जनाएको छ। उपभोक्ताको स्वास्थ्य तथा अधिकारमाथि खेलबाड गर्ने, कानुन उल्लंघन गर्ने वा गैरकानूनी व्यापारमा संलग्न हुने जो-कोही व्यवसायीलाई प्रचलित कानुनबमोजिम हदैसम्मको कडा कारबाही गरिने चेतावनी पनि विभागले दिएको छ।


Read Previous

प्रधानमन्त्रीसँग पुँजीबजारका सरोकारवालाको छलफल, आईपीओदेखि इन्ट्रा–डे कारोबारसम्म सुधारको माग

Read Next

नेपाल पूर्वाधार निर्माण कम्पनीको सीईओमा प्रभाकर थापा नियुक्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar