Nepal Purbadhar

काठमाडौंमा एलपी ग्यासको मूल्य बढ्यो, प्रतिसिलिन्डर २ हजार १६५ रुपैयाँ ३८ पैसा तिर्नुपर्ने


काठमाडौं । काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य बढेको छ। त्रिशूली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर क्षेत्रमा सडक कटान भई यातायात अवरुद्ध भएपछि ग्यासको आपूर्ति वैकल्पिक मार्गबाट गर्नुपर्ने भएकाले प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा थपिएको हो।

नेपाल एलपी ग्यास उद्योग संघका अनुसार काठमाडौं उपत्यकामा अब प्रतिसिलिन्डर एलपी ग्यासको अधिकतम मूल्य २ हजार १६५ रुपैयाँ ३८ पैसा कायम गरिएको छ।

यसअघि नेपाल आयल निगमले तोकेको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ थियो। बाढीका कारण नियमित आपूर्ति मार्ग अवरुद्ध भएपछि वैकल्पिक बाटो प्रयोग गर्दा थप ढुवानी खर्च लाग्ने भएकाले उक्त रकम मूल्यमा जोडिएको संघले जनाएको छ।

नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघबीच भएको बैठकले मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धादिङमा रहेका ग्यास उद्योगबाट सिलिन्डर रिफिल गरी ट्रकमार्फत वैकल्पिक मार्गबाट काठमाडौं उपत्यकामा ग्यास ल्याउने निर्णय गरेको छ।

संघका अनुसार हेटौंडाबाट काठमाडौंसम्म वैकल्पिक मार्ग प्रयोग गर्दा दूरी करिब १३१ किलोमिटर हुनेछ। यस क्रममा थपिने ढुवानी खर्च प्रतिसिलिन्डर ९३ रुपैयाँ २६ पैसा रहेकोमा नियमानुसार लाग्ने करसमेत जोड्दा १०५ रुपैयाँ ३८ पैसा पुग्नेछ।

सोही आधारमा काठमाडौं उपत्यकामा एलपी ग्यास बजारीकरण गर्ने उद्योगहरूलाई निगमले तोकेको २ हजार ६० रुपैयाँमा वैकल्पिक ढुवानी खर्च जोडेर कायम हुने २ हजार १६५ रुपैयाँ ३८ पैसाभन्दा बढी मूल्यमा ग्यास बिक्री नगर्न संघले आग्रह गरेको छ।

बाढीका कारण काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा ग्यासको आपूर्ति तथा वितरण प्रभावित भएको संघले जनाएको छ। आपूर्ति सहज बनाउन काठमाडौं उपत्यकामा रहेका ग्यास उद्योगहरूले समेत मकवानपुरलगायत वैकल्पिक क्षेत्रका उद्योगबाट सिलिन्डर रिफिल गरी ल्याउनुपर्ने व्यवस्था गरिएको छ।

संघले विपद्का कारण उत्पन्न असहज परिस्थितिमा नयाँ सिलिन्डरको बजारीकरण नगरी ग्यासको नियमित आपूर्ति व्यवस्थालाई सहज बनाउन उद्योगी तथा बिक्रेतालाई आग्रह गरेको छ।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष विद्यानबहादुर चन्दले उपभोक्तालाई ग्यासको अभाव हुन नदिन वैकल्पिक व्यवस्थामार्फत आपूर्ति निरन्तर राख्न उद्योगी तथा बिक्रेतालाई अनुरोध गरेका छन्।


Read Previous

रसुवा र नुवाकोटका बाढीपीडितलाई यामाहा ब्लू स्ट्रीक्सको सहयोग

Read Next

बाढीपछि चार वैकल्पिक सडक सञ्चालनमा, रसुवा–नुवाकोट–धादिङको यातायात सहज बनाउने प्रयास

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar