
काठमाडौं । त्रिशूली नदीमा आएको भीषण बाढीका कारण गल्छी–त्रिशूली राजमार्ग तथा त्रिशूली नदीमाथिका विभिन्न पुलमा क्षति पुगेपछि अवरुद्ध भएको यातायातलाई सहज बनाउन सडक डिभिजन कार्यालय नुवाकोटले चार वटा वैकल्पिक सडक सञ्चालनमा ल्याएको छ।
बाढीबाट प्रभावित सडक तथा पुलको विकल्पमा सडक निर्माण, मर्मत तथा स्तरोन्नति गरी धादिङ, नुवाकोट र रसुवाका विभिन्न क्षेत्रलाई यातायात सञ्जालमा जोडिएको सडक डिभिजन नुवाकोटले जनाएको छ।
पृथ्वी राजमार्ग–धादिङबेसी वैकल्पिक मार्ग
पृथ्वी राजमार्गको मास्टारदेखि त्रिशूली पुल पार गर्दै केउरिनीटार, बेलिनटार, आदमटार, पिपलटार, गजुरीटार, नेपालटार र परेवाटार हुँदै धादिङबेसीसम्म करिब १५ किलोमिटर वैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ।
यसबाट धादिङको गल्छी र सिद्धलेक क्षेत्रको यातायातलाई सहज बनाउने लक्ष्य राखिएको छ।
त्रिशूली पार क्षेत्र जोड्ने ४० किलोमिटर सडक
त्रिशूली नदीका पुल तथा मुख्य सडकमा क्षति पुगेपछि नदीपारिको भूभागलाई यातायात सञ्जालमा जोड्न करिब ४० किलोमिटर वैकल्पिक मार्ग सञ्चालन गरिएको छ।
गल्छी–त्रिशूली राजमार्गअन्तर्गत त्रिशूली पुल पारिबाट नदीको दायाँ किनार हुँदै कल्लेरीटार, कोशीखोला, पिमलटार, दर्शनटार, छत्रेखोला, गौरीबेसी हुँदै त्रिशूली बजार र किस्पाङ गाउँपालिकाको सीमासम्म सडक सञ्चालनमा ल्याइएको हो।
यसबाट धादिङको सिद्धलेक तथा नुवाकोटका तारकेश्वर, विदुर र मेघाङ क्षेत्र प्रभावित भएका छन्।
देवीघाट–तादी खोला पुलको विकल्पमा ३५ किलोमिटर सडक
देवीघाटस्थित क्षतिग्रस्त तादी खोला पुलको विकल्पमा पिपलटार–धमले–निरञ्जना–बाघखोर–हर्रे–देउराली–कोल्पुटार सडक सञ्चालनमा ल्याइएको छ।
उक्त वैकल्पिक मार्गबाट चारपाङ्ग्रे सवारीसाधनसमेत सञ्चालन गर्न मिल्ने बनाइएको सडक डिभिजनले जनाएको छ। यसबाट नुवाकोटको विदुर र बेलकोटगढी क्षेत्रलाई राहत पुगेको छ।
रसुवा आवतजावतका लागि १२ किलोमिटर वैकल्पिक सडक
त्रिशूलीदेखि बेत्रावतीसम्मको राजमार्गमा क्षति पुगेपछि रसुवा जिल्लासँग यातायात सम्पर्क कायम गर्न नुवाकोट खण्डको करिब १२ किलोमिटर सडक सञ्चालनयोग्य बनाइएको छ।
मध्यपहाडी राजमार्गअन्तर्गत ढिकुरेबाट फेदी, बेसीचोक, हिरामुनिटार, चोगते, बोरेभञ्ज्याङ, सानो खोला, धनस्वारा, भोर्ले, जिबजिबे हुँदै बोगटीटारसम्मको सडक मर्मत गरी सञ्चालनमा ल्याइएको हो। रसुवा खण्डमा भने मर्मत कार्य जारी रहेको छ।
यस वैकल्पिक मार्गबाट नुवाकोटको विदुर र सूर्यगढी क्षेत्रलाई यातायात सम्पर्कमा राख्न सहयोग पुगेको छ।
सडक डिभिजन नुवाकोटले आपतकालीन अवस्थामा विभिन्न उपकरण परिचालन गरी सडक खुलाउने, पहिरो हटाउने, कल्भर्ट निर्माण गर्ने, सडक सतह सुधार गर्ने तथा ग्राभेल राख्नेलगायतका कामलाई निरन्तरता दिइरहेको छ।
बाढीका कारण मुख्य राजमार्ग तथा पुलमा भएको क्षतिले यातायात सम्पर्क प्रभावित बनेपछि तत्कालीन आवागमन सहज बनाउन वैकल्पिक सडकलाई प्राथमिकताका साथ सञ्चालनमा ल्याइएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।
