
काठमाडौं। यामाहा ब्लू स्ट्रीक्स मोटरसाइकल कम्युनिटीले रसुवा र नुवाकोटका बाढीपीडितलाई खाद्यान्न तथा अत्यावश्यक सामग्री सहयोग गरेको छ।
बाढी प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले ब्लू स्ट्रीक्सका राइडरले सदस्यबाट ९३ हजार रुपैयाँ संकलन गरेका थिए। कम्युनिटीले सहयोग संकलन प्रक्रियालाई पारदर्शी बनाउँदै नगद तथा अनलाइनमार्फत सहयोग गर्ने दाताको विवरणसमेत सार्वजनिक गरेको जनाएको छ।
संकलित रकमबाट चामल, दाल, मिनरल वाटर र स्यानिटरी प्याडलगायतका आवश्यक सामग्री खरिद गरी राहत प्याकेज तयार गरिएको थियो। भारी वर्षाका बीच पनि सदस्यले राहत सामग्री तयार गरी थप सामग्री बोकेको एउटा गाडीका साथ मोटरसाइकल समूह बनाएर प्रभावित क्षेत्रमा पुर्याएका थिए।
राहत सामग्री नुवाकोटको श्री सुन्दरी केउरिनी माध्यमिक विद्यालयमा स्थापना गरिएको अस्थायी होल्डिङ सेन्टरमा वितरण गरिएको थियो। त्यहाँ कम्युनिटीका सदस्यले बाढीपीडित परिवार, विशेषगरी ज्येष्ठ नागरिक तथा बालबालिकालाई सामग्री वितरण गरेका थिए।
MAW राइड्स प्रालिका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले ब्लू स्ट्रीक्सका सदस्यले राइडिङसँगै सामाजिक उत्तरदायित्वलाई पनि अघि बढाउँदै आएको बताए।
उनले भने, “हाम्रा राइडरहरू राइड मात्र सँगै गर्दैनन्, समाजलाई सहयोग पनि सँगसँगै मिलेर गर्छन्।” उनले कठिन परिस्थितिमा पनि ब्लू स्ट्रीक्स आवश्यक परेका नागरिकको साथमा निरन्तर उभिने बताए।
बाढी प्रभावित क्षेत्रमा पुनःस्थापना तथा पुनर्निर्माणको काम जारी रहेका बेला ब्लू स्ट्रीक्सको यो पहलले सामुदायिक सहभागिता र सामाजिक उत्तरदायित्वमार्फत विपद्मा प्रभावित परिवारलाई सहयोग पुर्याउन सकिने उदाहरण प्रस्तुत गरेको छ।
