Nepal Purbadhar

मौलाकालिकाको १८८२ खुड्किला : आस्था, स्वास्थ्य र प्रकृतिको अनुपम संगम


गैँडाकोट। बिहानको ठीक साढे ४ बजेको समय। शहर अझै निद्रामै हुन्छ, तर गैँडाकोटस्थित मौलाकालिका मन्दिरतर्फ उक्लिने १८८२ वटा ढुङ्गे खुड्किलामा भने पदयात्रीहरूको चहलपहल सुरु भइसकेको हुन्छ। एक समय धार्मिक आस्था र पूजाआजाका लागि मात्रै प्रयोग हुने यो पदमार्ग अहिले स्वास्थ्य, मानसिक ताजगी र छोटो पदयात्राको आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। विशेषगरी शनिबार र सार्वजनिक बिदाका दिन यहाँ सयौँ होइन, हजारौँ मानिसहरूको उपस्थितिले यो क्षेत्र जीवन्त देखिन्छ।

भरतपुर र गैँडाकोटजस्ता व्यस्त शहरबाट केही मिनेटको दूरीमा रहेको मौलाकालिका अहिले धेरैका लागि ‘शनिबारे हाइकिङ स्पट’ बनेको छ। आधुनिक जीवनशैलीका कारण बढ्दो शारीरिक निष्क्रियता र मानसिक तनावबाट केही समय टाढा रहन चाहनेहरूका लागि यो उकालो स्वास्थ्य र प्रकृतिको उत्कृष्ट संयोजन बनेको छ।

स्वास्थ्यका लागि नियमित अभ्यास

चितवन मेडिकल कलेजमा कार्यरत डा. शैलेन्द्र राज अधिकारी र डा. ममता तिवारी पनि नियमित रूपमा यो पदमार्ग चढ्नेमध्येका हुन्। केही समययता उनीहरूले मौलाकालिकाको उकालोलाई आफ्नो दैनिक जीवनशैलीको अभिन्न हिस्सा बनाएका छन्।

डा. शैलेन्द्रका अनुसार सुरुमा मन्दिर पुग्न एक घण्टा १० मिनेट लाग्थ्यो, तर अहिले उनीहरू ५० देखि ५२ मिनेटमै शिखरमा पुग्न सफल हुन्छन्। उनीहरूका लागि यो यात्रा धार्मिक आस्थाको विषय मात्र होइन, शरीर र मन दुवैलाई स्फूर्त राख्ने प्रभावकारी अभ्यास पनि हो। जाडो, वर्षा वा अन्य मौसमको प्रतिकूलताले पनि उनीहरूको नियमितता रोक्दैन। छाता र रेनकोट बोकेर भए पनि उनीहरू प्रत्येक हप्ता यो पदयात्रा पूरा गर्छन्।

मनोचिकित्सक समेत रहेका डा. शैलेन्द्रका अनुसार यस्तो नियमित हाइकिङले मस्तिष्कमा अक्सिजनको मात्रा बढाउँछ, जसले मानसिक ताजगी, एकाग्रता र शारीरिक तन्दुरुस्ती कायम राख्न मद्दत गर्छ।

डा. ममताका लागि भने यो यात्रा १२–१५ वर्ष लामो हिँडडुल कम हुने जीवनशैली परिवर्तन गर्ने अभियान बनेको छ। मानसरोवर यात्राको तयारीका रूपमा सुरु गरिएको यो अभ्यास अहिले उनीहरूको नियमित बानी बनिसकेको छ। उनी भन्छिन्, शनिबार मौलाकालिका जान नपाए हप्ताभरिको थकान नमेटिएको जस्तो महसुस हुन्छ।

सबै उमेर र पेसाका मानिसको रोजाइ

मौलाकालिकाको उकालो अहिले चिकित्सकहरू मात्रै होइन, विभिन्न पेसा र उमेर समूहका मानिसहरूको साझा गन्तव्य बनेको छ।

भरतपुर–१२ की सविना ढकालका लागि यो पदयात्रा लामो र खर्चिलो ट्रेकिङको विकल्प हो। उनी छोटो समयमै प्रकृतिसँग रमाउने अवसर मौलाकालिकाले दिएको बताउँछिन्।

यस्तै, भरतपुर–७ की रोजिना गुरुङ लामालाई यहाँको घना हरियाली, चिसो हावा र प्राकृतिक वातावरणले बारम्बार आकर्षित गर्छ। उनका अनुसार उकालो चढ्दा हुने शारीरिक अभ्याससँगै प्रकृतिको सान्निध्यले मनलाई समेत शान्त बनाउँछ।

शनिबार हजारौँको भीड

मन्दिर व्यवस्थापन समितिका अनुसार सामान्य दिनको तुलनामा शनिबार भक्तजन र पदयात्रीहरूको संख्या उल्लेख्य रूपमा बढ्छ।

मन्दिरका व्यवस्थापक मुक्ति भण्डारीका अनुसार शनिबार मात्रै करिब ३ हजारदेखि ५ हजारसम्म मानिस मौलाकालिका पुग्छन्। बढ्दो भीडलाई ध्यानमा राख्दै पुराना खुड्किलाको मर्मत, पदमार्ग सुधार तथा यात्रुहरूको सुविधाका लागि आवश्यक पूर्वाधार विस्तारको काम भइरहेको छ।

उनका अनुसार अहिले धेरै मानिस धार्मिक दर्शनसँगै बिहानको हिँडाइ, स्वास्थ्य सचेतना र प्रकृतिसँग समय बिताउने उद्देश्यले पनि यहाँ आउँछन्। हिँड्न नसक्ने वा ज्येष्ठ नागरिकका लागि केबलकार सेवा उपलब्ध भए पनि अधिकांश आगन्तुक आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिँदै पैदल यात्रा नै रोज्ने गरेका छन्।

इतिहाससँग जोडिएको गन्तव्य

मौलाकालिका मन्दिर धार्मिक महत्त्वसँगै ऐतिहासिक दृष्टिले पनि विशेष स्थान राख्छ।

इतिहासकारहरूका अनुसार करिब २०० देखि ३०० वर्षअघि यो क्षेत्र सेन वंशीय राजाहरूको गढी अर्थात् सैन्य चौकी थियो। समयसँगै त्यही गढीमा मौलो गाडेर देवीको पूजा गर्न थालिएपछि यस स्थानको नाम ‘मौलाकालिका’ रहन गएको स्थानीय ऐतिहासिक कथन छ।

यसरी धार्मिक आस्था, प्राकृतिक सौन्दर्य, स्वास्थ्यप्रतिको सचेतना र ऐतिहासिक विरासतलाई एकै ठाउँमा समेटेको मौलाकालिका आज छोटो पदयात्राका पारखीहरूका लागि नेपालकै आकर्षक गन्तव्यमध्ये एक बन्दै गएको छ।

फोटो : नेपाल फोटो लाइब्रेरी


Read Previous

नेपालगञ्जको विद्युत् समस्या समाधानका लागि बजेट र कार्ययोजना ल्याइने, ऊर्जामन्त्री आफै सक्रिय

Read Next

सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न सबै पक्षको सहकार्य आवश्यक : ऊर्जा मन्त्री श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar