Nepal Purbadhar

सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त


काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग, स्टेम शिक्षा तथा नर्सिङ–जनस्वास्थ्य क्षेत्रका चार जना विज्ञलाई सदस्यका रूपमा मनोनयन गरेको छ।

मन्त्रालयले सूचना प्रविधि तथा डिजिटल नीति विज्ञ डा. अमृता शर्मा, नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डे, कर्खानाका सह-संस्थापक तथा स्टेम शिक्षा विज्ञ डा. दिपेश्वर मान श्रेष्ठ र नर्सिङ तथा जनस्वास्थ्य विज्ञ प्रमिला रानालाई काउन्सिल सदस्यमा नियुक्त गरेको हो।

सिटिइभिटिको एकेडेमिक काउन्सिल परिषद्को शैक्षिक तथा प्राज्ञिक नेतृत्व गर्ने प्रमुख निकाय हो। यसले पाठ्यक्रम विकास, नयाँ कार्यक्रम स्वीकृति, शैक्षिक गुणस्तर सुनिश्चितता, मूल्याङ्कन प्रणाली तथा प्राविधिक एवं व्यावसायिक शिक्षाको दीर्घकालीन नीतिगत दिशानिर्देशनमा भूमिका निर्वाह गर्दै आएको छ।

मन्त्रालयका अनुसार डा. अमृता शर्मा सूचना प्रविधि, डिजिटल रूपान्तरण, डिजिटल अर्थतन्त्र र सार्वजनिक नीतिका क्षेत्रमा सक्रिय अनुसन्धानकर्ता हुन्। सूचना तथा सञ्चार प्रविधिमा रोजगारीयोग्यता विषयमा विद्यावारिधि गरेका उनले सूचना प्रविधि उद्योग, डिजिटल सीप, सेवा निर्यात र नीतिगत सुधारका विषयमा विभिन्न अध्ययन तथा अनुसन्धान गरेका छन्। उनको नेतृत्वमा एकीकृत विकास अध्ययन संस्थान (आईआईडीएस) ले गरेको ‘अनलिसिङ आईटी : एड्भान्सिङ नेपाल्स डिजिटल इकोनोमी’ अध्ययनले नेपाललाई सूचना प्रविधि सेवा निर्यातको प्रमुख गन्तव्यका रूपमा विकास गर्न आवश्यक नीतिगत सुधार, दक्ष जनशक्ति विकास र निजी क्षेत्रसँगको सहकार्यका विषयमा सुझाव दिएको थियो।

नवनियुक्त सदस्य विरेन्द्रराज पाण्डे निर्माण, पूर्वाधार तथा औद्योगिक क्षेत्रका उद्यमी हुन्। इन्जिनियरिङ पृष्ठभूमिका उनले तीन दशकभन्दा बढी समयदेखि निर्माण व्यवसाय, पूर्वाधार विकास तथा निजी क्षेत्रको नेतृत्व गर्दै आएका छन्। मन्त्रालयले उनको अनुभवले प्राविधिक शिक्षालाई उद्योगको आवश्यकता र श्रम बजारसँग अझ प्रभावकारी रूपमा जोड्न सहयोग पुग्ने अपेक्षा गरेको छ।

त्यसैगरी, डा. दिपेश्वर मान श्रेष्ठले अमेरिकाको टफ्ट्स विश्वविद्यालयबाट स्टेम शिक्षामा विद्यावारिधि गरेका छन्। उनले नेपालमा विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणितमा आधारित व्यावहारिक सिकाइ, शिक्षकको क्षमता विकास, ‘मेकिङ’ संस्कृतिको प्रवर्द्धन तथा नवप्रवर्तनमुखी शिक्षाको विस्तारमा योगदान दिँदै आएका छन्।

प्रमिला रानाले भारतबाट नर्सिङमा स्नातकोत्तर तथा नेदरल्यान्ड्सको वागेनिङ्गेन विश्वविद्यालयबाट स्वास्थ्य तथा समाज विषयमा फेलोसिप पूरा गरेकी छन्। हाल नेपाल रेडक्रस सोसाइटीमा क्लिनिकल कोअर्डिनेटरका रूपमा कार्यरत उनले यसअघि सेभ द चिल्ड्रेन, नर्भिक इन्टरनेशनल अस्पताललगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा जनस्वास्थ्य, नर्सिङ सेवा र आपत्कालीन प्रतिकार्यसम्बन्धी नेतृत्वदायी भूमिका निर्वाह गरेकी छन्।

मन्त्रालयले सूचना प्रविधि, उद्योग, स्टेम शिक्षा तथा स्वास्थ्य क्षेत्रका अनुभवी व्यक्तित्वहरूको सहभागिताले सिटिइभिटिको एकेडेमिक काउन्सिललाई बहुआयामिक विशेषज्ञता प्रदान गर्ने तथा प्राविधिक तथा व्यावसायिक शिक्षालाई आधुनिक प्रविधि, उद्योगको आवश्यकता, नवप्रवर्तन र श्रम बजारसँग अझ प्रभावकारी रूपमा जोड्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।


Read Previous

साउन १ देखि काठमाडौँमा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी

Read Next

जुन महिनामा विदेशी पर्यटक आगमन १९.५ प्रतिशतले बढे, भारतबाट मात्रै ४१ हजार ८०९ पर्यटक आए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar