Nepal Purbadhar

निर्माण व्यवसायी महासंघको आर्थिक सहयोगमा नुवाकोटमा एक महिनामै बन्यो २६७ मिटर लामो झोलुङ्गे पुल


काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको आर्थिक सहयोगमा नुवाकोटमा निर्माण गरिएको २६७ मिटर लामो झोलुङ्गे पुल सञ्चालनमा आएको छ। ढुंगेबजारदेखि जिल्लाको महत्वपूर्ण व्यापारिक केन्द्र त्रिशूली बजार जोड्ने पुलको शुक्रबार बिहान महासंघका अध्यक्ष निकोलस पाण्डेले उद्घाटन गरे।

पुल सञ्चालनमा आएसँगै ढुंगेबजार र त्रिशूली बजारबीच आवतजावत सहज हुने भएको छ। यसबाट दैनिक हजारौं स्थानीय बासिन्दा लाभान्वित हुने अपेक्षा गरिएको छ।

पुल उद्घाटनपछि आयोजित कार्यक्रममा महासंघका अध्यक्ष पाण्डेले करिब एक महिनामै पुल निर्माण सम्पन्न हुनु निर्माण व्यवसायीहरूको सामूहिक प्रयासको उदाहरण भएको बताए। भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि आफन्त गुमाउँदाको पीडालाई शक्तिमा बदल्दै नुवाकोटका निर्माण व्यवसायीले छोटो समयमै पुल निर्माण गरेको उनको भनाइ थियो।

उनले निर्माण व्यवसायीले समयमै गुणस्तरीय काम गर्न सक्दैनन् भन्ने धारणालाई पुल निर्माणले गलत साबित गरेको बताए। पुल निर्माणमा संलग्न प्राविधिक तथा मजदुरको योगदानको प्रशंसा गर्दै उनले उनीहरू धन्यवादका पात्र भएको उल्लेख गरे।

विपद्मा निर्माण व्यवसायीको सहयोग
अध्यक्ष पाण्डेले विपद्का बेला महासंघले विगतदेखि नै राज्यलाई विभिन्न किसिमको सहयोग गर्दै आएको बताए। उनका अनुसार देशभरका निर्माण व्यवसायीबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँभन्दा बढी रकम जम्मा गरिएको छ।

उनले कर्मचारीतन्त्रबाट अनावश्यक बाधा सिर्जना नहुने हो भने नेपाली निर्माण व्यवसायीले अझ उत्कृष्ट काम गर्न सक्ने बताए। विपद्का बेला निर्माण व्यवसायीको सीप, स्रोत र जनशक्तिलाई प्रभावकारी रूपमा परिचालन गर्न सके छोटो समयमै महत्वपूर्ण पूर्वाधार निर्माण गर्न सकिने उनको भनाइ थियो।

बागमती प्रदेश निर्माण व्यवसायी महासंघका अध्यक्ष छत्रबहादुर तामाङले छोटो समयमै हजारौं नागरिकलाई लाभ पुग्ने गरी पुल निर्माण हुनु सकारात्मक भएको बताए। यसले निर्माण व्यवसायीप्रति समाजको दृष्टिकोणमा समेत परिवर्तन ल्याउने विश्वास उनले व्यक्त गरे।

कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ र जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजेन्द्रविक्रम सिंह ठकुरीलगायतले सामाजिक उत्तरदायित्वअन्तर्गत महासंघले गरेको कामको प्रशंसा गरे। उनीहरूले पुल निर्माणलाई समुदायका लागि महत्वपूर्ण योगदानका रूपमा व्याख्या गरे।

निर्माण व्यवसायी संघ नुवाकोटका अध्यक्ष शैलेन्द्रराज प्याकुरेलले महासंघको यस कार्यबाट राज्यले समेत पाठ सिक्नुपर्ने बताए।

उद्घाटन कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष रामजी पन्त ‘मुकेश’, उपाध्यक्ष बालकृष्ण थापा, महासचिव शिवहरि घिमिरे, उपमहासचिव सन्तोष साह, कार्यसमिति सदस्य सरेन्द्रराज केसी, विशेष

आमन्त्रित सदस्य ओपेन्द्रकुमार खड्का र महासंघका कार्यालय प्रमुख प्रेमसिंह ऐरलगायतको सहभागिता थियो।
पुल निर्माणले स्थानीयको आवतजावत सहज बनाउनुका साथै ढुंगेबजार र त्रिशूली बजारबीचको सम्पर्कलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।


Read Previous

विद्युत् व्यापारमा निजी क्षेत्रलाई बाटो खुलाउन एलओआई दिने निर्णय, उत्तम लामाले भने– दशैंको सुपर उपहार

Read Next

तातोपानी नाका तीन दिन खुल्ने, दशैंका लागि सामान आपूर्ति सहज हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar