
काठमाडौं। महिलाको सुरक्षित सार्वजनिक आवागमनलाई लक्षित गर्दै सरकारले आगामी साउन १ गतेदेखि काठमाडौँ उपत्यकामा पहिलो चरणमा आठ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी गरेको छ।
सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत सातै प्रदेशमा महिलाका लागि निःशुल्क ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने योजना रहेको छ। पहिलो १०० दिनभित्र देशभर २५ वटा बस सञ्चालन गर्ने लक्ष्य राखिएको छ।
पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलका अनुसार बस सेवा सञ्चालनका लागि साझा यातायातले अर्थ मन्त्रालयसँग राय–सुझाव माग्दै पत्राचार गरिसकेको छ। अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएपछि पहिलो चरणमा साउन १ गतेदेखि सेवा शुरू गरिनेछ।
प्रारम्भिक चरणमा लगनखेल–बुढानीलकण्ठ रुटमा दुई वटा बस सञ्चालन गरिनेछ। यस्तै, थानकोट–नागढुङ्गा–विमानस्थल रुटमा दुई वटा बस चलाइनेछ।
यसैगरी, चक्रपथ (रिङरोड) क्षेत्रमा चार वटा बस सञ्चालन गर्ने योजना छ। तीमध्ये दुई वटा बस क्लकवाइज (घडीको दिशामा) र दुई वटा एण्टिक्लकवाइज (घडीको विपरीत दिशामा) सञ्चालन गरिने मन्त्रालयले जनाएको छ।
