
भोजपुर। भोजपुरको टेम्केमैयुङ गाउँपालिका-६ का दुर्गम बस्तीमा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार भएपछि स्थानीयको दैनिकी सहज बनेको छ। लामो समयदेखि विद्युत् सेवाको प्रतीक्षामा रहेका स्थानीयको घरघरमा बिजुली पुगेपछि शिक्षा, सञ्चार र घरायसी कामकाजमा सहजता आएको हो।
विद्युत् विस्तारसँगै स्थानीयले इन्टरनेट, टेलिभिजनलगायतका सुविधा उपभोग गर्न पाएका छन्। यसअघि बिजुलीको अभावमा सूचना तथा सञ्चार प्रविधिको पहुँचबाट टाढा रहेका बस्तीका नागरिक अहिले बाहिरी संसारसँग जोडिन थालेका छन्।
स्थानीयवासी बलबहादुर राईका अनुसार विद्युत् सेवा पुगेपछि बालबालिकाको पढाइ, घरायसी कामकाज र साना उद्योग सञ्चालनमा सहज भएको छ। विगतमा बिजुली नहुँदा बालबालिकाको अध्ययनदेखि स्थानीय उत्पादनको कुटानीपिसानीसम्मका काममा समस्या हुने गरेको थियो।
विद्युत् विस्तारलाई प्राथमिकतामा राखेर काम गर्दा सीमित बजेटबाट पनि नतिजामुखी काम गर्न सफल भएको वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताए। भौगोलिक रूपमा ठूलो क्षेत्रफलमा फैलिएको वडाका सबै बस्तीमा विद्युत् पुर्याउन चुनौती रहे पनि प्राथमिकताका आधारमा काम अघि बढाइएको उनको भनाइ छ।
विद्युत् सेवा विस्तारपछि स्थानीयले विद्युतीय मिलबाट कुटानीपिसानी गर्न थालेका छन्। यसले परम्परागत रूपमा गर्नुपर्ने शारीरिक श्रम र समयको बचत गरेको छ। त्यस्तै, फर्निचरलगायतका घरेलु उद्योग सञ्चालन गर्न सहज भएपछि स्थानीय उत्पादन र आयआर्जनका गतिविधिमा समेत सहयोग पुगेको वडाले जनाएको छ।
ग्रामीण बस्तीमा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तारले स्थानीयको जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै शिक्षा, सूचना तथा सञ्चार प्रविधि र उद्यम विकासका नयाँ सम्भावना खोलेको छ।

