Nepal Purbadhar

३ हजारको सामान किनेकी सन्तमायाले हात पारिन् १० लाखको बम्पर उपहार


काठमाडौं । दसैंमा नुवाकोटको एउटा फेन्सी पसलबाट ३ हजार रुपैयाँको सामान किनेर बिल लिएकी सन्तमाया तामाङले १० लाख रुपैयाँको बम्पर उपहार जितेकी छन्। आन्तरिक राजस्व विभागको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत गोलाप्रथाबाट तामाङ बम्पर उपहारका लागि छनोट भएकी हुन्।

नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट सामान खरिद गरेकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ बम्पर उपहारका लागि छनोट भएको हो।

काठमाडौंको न्यूरोडस्थित विशाल बजार परिसरमा आयोजित कार्यक्रममा वरिष्ठ कलाकार तथा निर्माता दीपकराज गिरी र दीपाश्री निरौलाले कम्प्युटर प्रणालीको बटन थिचेर बम्पर तथा दैनिक उपहारका विजेता घोषणा गरेका थिए। विजेता घोषणा भएपछि कलाकारद्वयले तामाङलाई फोन गरेर १० लाख रुपैयाँ जितेको जानकारी दिएका थिए।

अचानक आएको फोनमा सुरुमा कसैले जिस्क्याएको ठानेकी तामाङले नेपाल सरकारको आधिकारिक कार्यक्रम भएको जानकारी पाएपछि आफूले उपहार जितेको विश्वास गरेकी थिइन्।

१६ जनाले पनि जिते नगद पुरस्कार

विभागका अनुसार असोज १६ देखि ३१ गतेसम्मको दोस्रो पाक्षिक अवधिका लागि बम्पर उपहारबाहेक १६ जना दैनिक विजेता पनि छनोट भएका छन्। उनीहरूले घोषित पुरस्कार राशि जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ प्राप्त गर्नेछन्। कर कट्टीपछि भने प्रत्येक विजेताको खातामा १ लाख रुपैयाँ जम्मा हुनेछ।

विभागका महानिर्देशक डा. भीष्मकुमार भूसालले उपभोक्तामा सामान तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिने बानीको विकास गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए।

उनका अनुसार असोज १६ देखि ३१ गतेसम्म २ लाख ७५ हजार ८८४ ओटा कारोबारका बिल प्रविष्ट गरी उपभोक्ता कार्यक्रममा सहभागी भएका थिए। क्यूआर भुक्तानीमार्फत स्वतः दर्ता भएका ३ करोड ७४ लाख ७८ हजार ३८० ओटा कारोबारसमेत जोड्दा कुल ३ करोड ७७ लाख ५५ हजार २६४ ओटा कारोबार उपहार छनोट प्रक्रियामा समावेश भएका थिए।

कात्तिक १५ भित्र पुरस्कार दाबी गर्नुपर्ने

आन्तरिक राजस्व विभागले बम्पर तथा दैनिक उपहारका सबै विजेतालाई कात्तिक १५ गतेभित्र सक्कल बिलसहित नजिकैको आन्तरिक राजस्व कार्यालयमा उपस्थित भएर पुरस्कार दाबी गर्न आग्रह गरेको छ।

विभागले उपभोक्तालाई सामान तथा सेवा खरिद गर्दा बिल लिन प्रोत्साहित गर्ने र कारोबारलाई कर प्रणालीमा समेट्ने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गर्दै आएको छ।


Read Previous

‘रन अफ द रिभरको होइन पहिले अर्ध जलाशयको पीपीए खोल्नुपर्छ’ बटु लामिछानेको अन्तर्वार्ता

Read Next

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन, १७० मेगावाट प्रणालीमा जोडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar