Nepal Purbadhar

भोटेकोशी बाढीले बगाएका ३७ पुलको अवस्था कस्तो छ? तीन जिल्लामा आवागमन अझै प्रभावित


काठमाडौं। भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङसहितका जिल्लामा सडक तथा पुलमा ठूलो क्षति पुर्‍याएपछि बाढी प्रभावित क्षेत्रको आवतजावत अझै सहज हुन सकेको छैन।

बाढीले पक्की पुल बगाएपछि स्थानीयले त्रिशूली नदी वारपार गर्न वैकल्पिक सडक प्रयोग गर्नुपर्ने तथा कतिपय स्थानमा घण्टौँ पालो पर्खेर तुइनबाट यात्रा गर्नुपर्ने अवस्था रहेको छ। बाढी आएको एक महिना पुग्न लाग्दा पनि सडक सम्पर्क पूर्ण रूपमा सहज हुन सकेको छैन।

सरकारको प्रारम्भिक विवरणअनुसार बाढीबाट ३७ ओटा मोटरेबल पुलमा क्षति पुगेको छ। तीमध्ये ३३ ओटा पूर्ण रूपमा बगेका छन् भने ४ ओटा पुलमा आंशिक क्षति पुगेको छ।

पूर्ण रूपमा बगेका मोटरेबल पुलमध्ये नुवाकोटमा १४ ओटा, रसुवामा १३ ओटा, धादिङमा ५ ओटा र गोरखामा १ ओटा छन्। मोटरेबल पुलमा मात्रै करिब ९ अर्ब ४१ करोड ४४ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।

बाढीबाट झोलुङ्गे पुलमा पनि ठूलो क्षति पुगेको छ। प्रारम्भिक विवरणअनुसार बाढी प्रभावित क्षेत्रमा ६८ ओटा झोलुङ्गे पुलमा क्षति पुगेको छ। झोलुङ्गे पुलतर्फ करिब १ अर्ब ९३ करोड ६७ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

पुल र सडक संरचना बगेपछि स्थानीयको समस्या यातायातमा मात्रै सीमित छैन। खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको ढुवानी, बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउने तथा विद्यार्थीको विद्यालय आवतजावतसमेत प्रभावित भएको छ।

त्रिशूली नदी वारपार गर्ने नियमित पुल नहुँदा नदीपारिका बस्तीबीचको पैदल आवतजावतसमेत कठिन बनेको छ। कतिपय स्थानमा स्थानीयले वैकल्पिक बाटो र अस्थायी संरचनामार्फत दैनिक आवतजावत गरिरहेका छन्।

बाढीबाट क्षतिग्रस्त सडक तथा पुल सञ्चालनमा ल्याउन सडक विभाग र नेपाली सेनाले विभिन्न स्थानमा बेलिब्रिज निर्माण तथा सडकको ट्र्याक खोल्ने काम अघि बढाइरहेका छन्। यद्यपि स्थायी पुल निर्माण तथा सडक सम्पर्क पुनःस्थापना नभएसम्म बाढी प्रभावित क्षेत्रका स्थानीयले सहज आवतजावतका लागि वैकल्पिक मार्ग र अस्थायी संरचनामै निर्भर हुनुपर्ने अवस्था छ।

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी


Read Previous

पृथ्वी राजमार्गमा सडक भासिँदा र पहिरो खस्दा आवागमन प्रभावित- तस्बिर सहित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar