
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरबीच ग्राहकलाई शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी (ईएमआई) सुविधा उपलब्ध गराउने सम्झौता भएको छ।
डिजिटल भुक्तानी प्रवर्द्धन तथा ग्राहकलाई आधुनिक वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यका साथ दुई संस्थाबीच व्यावसायिक सहकार्य शुरू गरिएको बैंकद्वारा जारी विज्ञप्तीमा भनिएको छ।
सम्झौताअनुसार ग्लोबल आइएमई बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले भाटभटेनीका सम्पूर्ण स्टोरबाट न्यूनतम १५ हजार रुपैयाँ वा सोभन्दा बढीको खरिद गर्दा तत्कालै ‘अन-द-फ्लाइ ईएमआई’ सुविधा प्राप्त गर्न सक्नेछन्। यसका लागि कुनै अतिरिक्त कागजी प्रक्रिया आवश्यक नपर्ने बैंकले जनाएको छ।
ग्राहकले आफ्नो आवश्यकता अनुसार ३, ६, ९, १२ वा १८ महिनासम्मको किस्ताबन्दी अवधि छनोट गर्न सक्नेछन्। उक्त योजनामा ग्राहकबाट कुनै ब्याज वा प्रोसेसिङ शुल्क नलिइने बताइएको छ।
बैंकका अनुसार यो सुविधाले विशेषगरी इलेक्ट्रोनिक्स तथा उच्च मूल्यका सामग्री खरिद गर्ने ग्राहकलाई तत्काल आर्थिक भार कम गर्न तथा योजनाबद्ध रूपमा भुक्तानी गर्न सहज बनाउनेछ।
सहकार्यअन्तर्गत भाटभटेनीमा नियमित खरिद गर्ने ग्राहकका लागि विशेष ‘ग्लोबल बीबीएसएम क्लब क्रेडिट कार्ड’ पनि जारी गरिने भएको छ। ग्राहकको वार्षिक तथा पछिल्ला तीन महिनाको कारोबार इतिहासका आधारमा १ लाख ५० हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्मको क्रेडिट सीमा भएको कार्ड उपलब्ध गराइने जनाइएको छ।
शुरूआती चरणमा उक्त कार्ड भाटभटेनी तथा त्यससँग आबद्ध नेटवर्कमा मात्रै प्रयोग गर्न सकिनेछ। कार्डमार्फत ग्राहकले सहज भुक्तानी सेवा, विशेष छुट, अफर तथा भविष्यमा सञ्चालन हुने विभिन्न ग्राहक केन्द्रित योजनाको लाभ लिन सक्नेछन्।
ग्लोबल आइएमई बैंकले यो सहकार्यले डिजिटल भुक्तानी प्रणालीको विस्तार, आधुनिक बैंकिङ सेवाको प्रवर्द्धन तथा ग्राहकलाई थप लाभ पुर्याउने विश्वास व्यक्त गरेको छ। दुवै संस्थाले आगामी दिनमा संयुक्त रूपमा छुट, क्यासब्याक, रिवार्ड तथा अन्य ग्राहक केन्द्रित कार्यक्रम सञ्चालन गर्ने योजना बनाएका छन्।
यस योजनामा आईएमएस सफ्टवेयर प्रालिले प्राविधिक साझेदारका रूपमा सहकार्य गरेको छ।
