Nepal Purbadhar

सुनसरी घटनापछि शान्ति र सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा मंगलबार बसेको सर्वदलीय बैठकले सुनसरीलगायत विभिन्न जिल्लामा हालै भएका घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र संयमता कायम राख्न संयुक्त अपिल जारी गरेको छ।

बैठकले घटनामा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै, घाइते नागरिक र सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

संयुक्त वक्तव्यमा नेपालको विविधताबीचको एकता, सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न सबै नागरिकलाई आवेग र उत्तेजनाबाट टाढा रहन आग्रह गरिएको छ। कुनै पनि असन्तुष्टि र विवादको समाधान शान्तिपूर्ण संवाद र सहमतिबाट खोज्नुपर्नेमा बैठकले जोड दिएको छ।

बैठकले प्रदेश, जिल्ला र स्थानीय तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी संवादलाई तल्लो तहसम्म विस्तार गर्न तथा धार्मिक अगुवा, नागरिक समाज र स्थानीय प्रशासनको सहभागितामा विश्वासको वातावरण निर्माण गर्न सम्बन्धित राजनीतिक दलहरूलाई आह्वान गरेको छ।

यस्ता प्रकृतिका संवेदनशील घटना भविष्यमा दोहोरिन नदिन राजनीतिक दलहरूले केन्द्रीय तहबाट आवश्यक समन्वय, अनुगमन र नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

सर्वदलीय बैठकले सामाजिक सञ्जालमार्फत फैलिन सक्ने भ्रामक सूचना, अफवाह र घृणास्पद अभिव्यक्तिप्रति सचेत रहन आग्रह गर्दै आम नागरिकलाई सामाजिक सञ्जाल जिम्मेवारीपूर्वक प्रयोग गर्न अपिल गरेको छ। सञ्चारमाध्यमलाई पनि तथ्यपरक र संयमित सूचना सम्प्रेषण गर्न अनुरोध गरिएको छ।

त्यसैगरी, बैठकले नेपाल सरकारसँग घटनाको निष्पक्ष छानबिन गर्न, दोषीमाथि कानुनअनुसार कारबाही गर्न, पीडितलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र अधिकतम संयमता अपनाएर परिस्थितिलाई सामान्य बनाउन माग गरेको छ।

सर्वदलीय बैठकमा सहभागी राजनीतिक दलहरूले राष्ट्रिय एकता, सामाजिक सद्भाव र शान्ति कायम राख्न संयुक्त रूपमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन्।


Read Previous

थापाथलीमा तारमा आगलागीपछि मन्त्रीको निरीक्षण, अव्यवस्थित तार व्यवस्थापन अघि बढाइने

Read Next

माइतीघर डुबान रोक्न ढल सफाइ र मर्मत सुरू, सेनाको गेट क्षेत्रबाट काम थालियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar