Nepal Purbadhar

सुकुम्बासी समस्या समाधानमा जैमिनी नगरको उदाहरणीय काम, १८ परिवारलाई घर, जग्गा र लालपुर्जा


पहिचान भएका सबै सुकुम्बासीलाई घर र जग्गा उपलब्ध, विपन्न र विपद्पीडित परिवारका लागि पनि आवास निर्माण

बागलुङ। बागलुङको जैमिनी नगरपालिकाले सुकुम्बासी समस्या समाधानका लागि गरेको पहल स्थानीय तहकै उदाहरणीय अभ्यासका रूपमा देखिएको छ। नगरपालिकाले पहिचान भएका सबै सुकुम्बासी परिवारलाई घर, जग्गा र लालपुर्जा उपलब्ध गराएपछि उनीहरूको दशकौँदेखिको स्थायी बसोबासको समस्या समाधान भएको छ।

नगरपालिकाले हालसम्म १८ सुकुम्बासी परिवारका लागि जग्गा खरिद गरी घर निर्माण गरेको छ भने सबैलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) समेत हस्तान्तरण गरिसकेको छ। नगरपालिकाका अनुसार यस अभियानपछि नगरभित्र पहिचान भएका सुकुम्बासी परिवारको आवास समस्या अन्त्य भएको छ।

नगर उपप्रमुख हरिहर शर्माले सुकुम्बासी समस्या समाधानलाई प्राथमिकतामा राखेर अघिल्लो कार्यकालदेखि नै योजना बनाइएको बताए। उनका अनुसार नगरपालिकाले सुकुम्बासीको पहिचानदेखि जग्गा खरिद, घर निर्माण र लालपुर्जा वितरणसम्मका सबै प्रक्रिया आफ्नै पहलमा पूरा गरेको हो।

उनले सबै पहिचान भएका सुकुम्बासीले घर, जग्गा र लालपुर्जा प्राप्त गरिसके पनि नगरपालिकालाई औपचारिक रूपमा ‘सुकुम्बासीमुक्त नगरपालिका’ घोषणा गर्न राष्ट्रिय भूमि आयोगमार्फत आवश्यक प्रक्रिया भने अझै पूरा हुन बाँकी रहेको जानकारी दिए।

सुकुम्बासी परिवारमा मात्रै सीमित नरही नगरपालिकाले प्राकृतिक विपद्का कारण विस्थापित भएका तथा आर्थिक अभावका कारण घर निर्माण गर्न नसकेका ४४ परिवारलाई पनि सुरक्षित आवासको व्यवस्था मिलाएको छ।

बागलुङको जैमिनी नगरपालिकाले १८ सुकुम्बासी परिवारलाई घर, जग्गा र लालपुर्जा वितरण गर्दै सुकुम्बासी समस्या समाधानतर्फ उदाहरणीय काम गरेको छ। ४४ विपन्न तथा विपद्पीडित परिवारले पनि आवास पाएका छन्।

यसका लागि नगरपालिकाले कार्यविधि बनाएर घरविहीन परिवारलाई तीन लाख रुपैयाँ, विपद्का कारण घर गुमाएका परिवारलाई दुई लाख ५० हजार रुपैयाँ र आर्थिक अभावका कारण घर पुनर्निर्माण गर्न नसकेका परिवारलाई दुई लाख रुपैयाँ सहयोग उपलब्ध गराएको जनाएको छ।

पहिलो चरणमा तीन पुस्तासम्म आफ्नै घर नभएका परिवारलाई नयाँ घर निर्माण गरेर हस्तान्तरण गरिएको थियो। दोस्रो चरणमा विपद् वा आर्थिक समस्याका कारण अरूकै घरमा आश्रित भएर बस्न बाध्य परिवारलाई आफ्नै घर निर्माण गरी बसोबासको व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ।

घर प्राप्त गर्ने स्थानीय उषा नेपालीले नगरपालिकाको सहयोगले जीवनमा ठूलो परिवर्तन आएको बताइन्। उनले अब स्थायी बसोबासको चिन्ता हटेको भन्दै आफ्नै घरमा सुरक्षित रूपमा बस्न पाएको खुसी व्यक्त गरिन्।

स्थानीय सरकारको सक्रियता, स्पष्ट कार्ययोजना र लक्षित वर्गमा केन्द्रित कार्यक्रममार्फत जैमिनी नगरपालिकाले सुकुम्बासी व्यवस्थापनमा प्रभावकारी अभ्यास प्रस्तुत गरेको छ। स्थानीय तहले इच्छाशक्ति र योजनाबद्ध रूपमा काम गरे सुकुम्बासी समस्या समाधान गर्न सकिन्छ भन्ने उदाहरण जैमिनीले प्रस्तुत गरेको स्थानीयवासीको भनाइ छ।


Read Previous

नवलपुरमा आधुनिक नमूना सदरमुकाम निर्माणले गति लियो, सैबै सरकारी कार्यालय एकै स्थानमा

Read Next

नेपाल-भारत ऊर्जा सहकार्यमा ठूलो उपलब्धि, विद्युत् निर्यात विस्तारकालागि महत्वपूर्ण निर्णय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar